काठमाडौं। सरकारले देशभरका विद्युत् उत्पादन, प्रसारण र वितरण आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको छ।
शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सो निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिने जानकारी दिएका छन्।
बैठकले विशेष अदालतमा कार्यरत रजिष्ट्रार जितेन्द्रबाबु थपलियालाई नेपाल न्याय सेवाको राजपत्राङ्कीत विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्ति गरी न्याय परिषद्को सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, उच्च अदालत पाटनका न्यायाधीश चन्द्र बहादुर सारुलाई सो अदालतको कामकाजसमेत गर्ने गरी काठमाडौं उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारि दिएका छन् ।
त्यस्तै बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव सूर्यराज दाहाललाई महान्यायाधिवक्ता कार्यालयको नायव महान्यायाधीवक्ता पदमा सरुवा गरेको छ भने कामु नायव महान्यायाधीवक्ता उद्धवराज पुडासैनीलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको खरेलले जानकारी दिए।
































