काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तोकेको २१ दिनको समयसीमा सकिनुअघि नै लोडसेडिङ अवधिमा ट्रंक लाइन र छुट्टै डेटिकेटेड फिडरमार्फत विद्युत आपूर्ति लिएका सात उद्योगले प्रिमियम महसुलबापतको बक्यौता तिर्न सुरु गरेका छन्।
प्राधिकरणका अनुसार बाराको सिमरास्थित हामा आइरन एण्ड स्टील, अशोक स्टील र हुलाश स्टील, परासीस्थित लक्ष्मी स्टील र सर्बोत्तम सिमेन्ट, लमहीस्थित सम्राट सिमेन्ट, रोल्पाको रोल्पा सिमेन्ट र नयाँमिलस्थित नव नेपाल प्लास्टिक उद्योगले बक्यौता भुक्तानी सुरु गरेका हुन्।
हामा आइरन एण्ड स्टीलले कूल ५ करोड ८५ लाख रुपैयाँ बक्यौता मध्ये पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ तिरेको छ। भने अशोक स्टीलले १७ करोड ५८ लाख रुपैयाँ बक्यौता २६ किस्तामा चुक्ता गर्ने गरी पहिलो किस्ताको ६३ लाख रुपैयाँ बुझाएको छ।
हुलाश स्टीलले २०७२ माघदेखि २०७५ बैशाखसम्मको अवधिका लागि १४ करोड १२ लाख रुपैयाँ तिर्न बाँकी रहेकोमा २८ किस्तामा भुक्तानी गर्ने सहमति अनुसार पहिलो किस्तामा ५० लाख ४३ हजार रुपैयाँ बुझाएको छ।
त्यस्तै, लक्ष्मी स्टीलले यसअघि तिर्न सुरु गरी रोकिएको ८४ लाख ९५ हजार रुपैयाँ तिरेको छ। सर्बोत्तम सिमेन्टले पनि ४० लाख रुपैयाँ किस्ताबापत बुझाएको प्राधिकरणले जनाएको छ।
किस्ताबन्दीको सुविधा लिएर केही किस्ता बुझाएपछि रोकिएका सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले पनि बाँकी रकम तिर्न थालेका छन्। सम्राट सिमेन्टले २०७२ माघदेखि २०७५ बैशाखसम्मको अवधिका लागि ३ करोड ७७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी राखेको थियो। उसले प्रतिकिस्ता १३ लाख ४९ हजार रुपैयाँका दरले २८ किस्ता बुझाउने सहमति गरेकोमा ४ किस्ता बुझाएपछि रोकिएको थियो। हाल बाँकी ४ किस्ता (५३ लाख ९६ हजार रुपैयाँ) तिरेर पुनः नियमित भुक्तानी गर्ने जनाएको छ।
साथै, रोल्पा सिमेन्टले ९९ लाख १२ हजार रुपैयाँ बक्यौता मध्ये प्रतिकिस्ता ३ लाख ५४ हजार रुपैयाँका दरले २८ किस्ता बुझाउने स्वीकृति पाएको थियो। ६ किस्ता तिरेपछि रोकिएको उद्योगले हाल पाँच किस्ताको १७ लाख ७० हजार रुपैयाँ एकैपटक तिरेर अब नियमित किस्ता तिर्ने बताएको छ।
नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले १२ किस्ताबापत १ लाख २३ हजार रुपैयाँ बुझाएर सम्पूर्ण बक्यौता चुक्ता गरेको छ।विद्युत प्राधिकरणले गत असोज १२ गते सार्वजनिक सूचना जारी गर्दै ट्रंक लाइन र डेडिकेटेड फिडरमार्फत विद्युत आपूर्ति लिएका उद्योगलाई २१ दिनभित्र प्रिमियम महसुलको बक्यौता तिर्न ताकेता गरेको थियो। उक्त समयसीमा कात्तिक २ गते सकिँदै छ।
अहिलेसम्म केवल आठ उद्योग मात्र सम्पर्कमा आएर बक्यौता तिर्न सुरु गरेका छन्। अन्य ठूला उद्योगले अझै सम्पर्क नगरेकाले प्राधिकरणले अब बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने तयारी गरेको जनाएको छ।
































