काठमाडौँ । द एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना (सीईएक्सआईएम) ले सानिमा बैंक लिमिटेडलाई दुई ठूला जलविद्युत परियोजनाका लागि वित्तीय सहजीकरण तथा मध्यस्थकर्ताको रूपमा नियुक्त गरेको छ ।
सीईएक्सआईएम बैंकको सिचुआन शाखामा आयोजित विशेष कार्यक्रममा सानिमा बैंक र सीईएक्सआईएमबीच सम्झौता सम्पन्न भएको हो । सम्झौतामा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र सीईएक्सआईएम बैंक सिचुआन शाखाकी उपाध्यक्ष यानहुईले हस्ताक्षर गरेका थिए ।
अब सानिमा बैंकले मनाङ मर्स्याङ्दी हाइड्रोपावर प्रालि (१३५ मेगावाट) – १ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि (१२० मेगावाट) – १ परियोजनाका लागि एजेन्ट बैंकका रूपमा काम गर्नेछ ।
सम्झौता समारोहमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे, सीईएक्सआईएम सिचुआन शाखाका अध्यक्ष चेन शेङग्रोङ र एसजीआईसी इन्टरनेशनलका अध्यक्ष लिआयो बिनको उपस्थिति थियो ।
समारोहलाई सम्बोधन गर्दै सिइओ पाण्डेले सानिमा बैंकलाई एजेन्ट बैंकका रूपमा छनोट गरी विश्वास प्रकट गरेकोमा आभार व्यक्त गरे । उनले सीईएक्सआईएमसँगको सहकार्यले सानिमा बैंकको अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तार हुनुका साथै नेपालमा व्यापार प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, सीईएक्सआईएम र लगानीकर्ता कम्पनीका प्रतिनिधिहरूले परियोजनाहरू समयमै सम्पन्न गर्न आपसी सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।






























