काठमाडौं । साहस ऊर्जा लिमिटेडको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने तथा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर र १.१०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको हो।
त्यसैगरी, गत वर्ष कात्तिक ४ गते बसेको साधारणसभाले तत्काल कायम रहेको चुक्ता पूँजीमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई संशोधन गर्दै, बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको आधारमा १ बराबर १ को अनुपातमा ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय पनि बैठकले गरेको छ।
कम्पनीले उक्त प्रस्तावहरू आगामी वार्षिक साधारणसभाबाट अनुमोदनका लागि पेश गर्ने जनाएको छ।

































