काठमाडौँ । हिमालयन उर्जा विकास कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य नाफा वृद्धि हासिल गरेको छ। आम्दानी बढ्नु र वित्तीय खर्च घट्नुले कम्पनीको नतिजामा सकारात्मक प्रभाव परेको हो।
सार्वजनिक विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६९.४९ प्रतिशतले बढी हो।
कम्पनीको कुल आम्दानी पनि बढेको छ। चालु आवको तेस्रो त्रैमाससम्म ३४ करोड ५९ लाख रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो वर्षको ३२ करोड ३७ लाख रुपैयाँको तुलनामा ६.८५ प्रतिशतले बढी हो।
यद्यपि, प्रशासनिक तथा अन्य प्रत्यक्ष खर्च उल्लेख्य रूपमा बढेको छ। यस्तो खर्च अघिल्लो वर्ष ४ करोड ११ लाख रुपैयाँ रहेकोमा अहिले ७ करोड ९० लाख रुपैयाँ पुगेको छ। साथै, रोयल्टी खर्च ६९ लाख १७ हजार रुपैयाँ रहेको छ।
तर, वित्तीय खर्चमा भने कमी आएको छ। अघिल्लो वर्ष १३ करोड ९० लाख रुपैयाँ रहेको यस्तो खर्च घटेर ९ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ, जसले नाफा वृद्धिमा टेवा दिएको देखिन्छ।
समीक्षा अवधिसम्म कम्पनीको सञ्चित नाफा १२ करोड ७७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ। कम्पनीको कुल चालु सम्पत्ति २८ करोड रुपैयाँ र चालु दायित्व ८७ लाख ४५ हजार रुपैयाँ रहेको छ।
प्रमुख सूचकहरूमा प्रतिसेयर आम्दानी (ईपीएस) २.९९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ५५ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७९ रुपैयाँ ५८ पैसा कायम भएको छ।




































