काठमाडौं । वातावरणमैत्री यातायाततर्फ ठूलो कदम चाल्दै भारतले हाइड्रोजन इन्धनबाट चल्ने पहिलो रेल सेवा सञ्चालनमा ल्याएको छ। उक्त सेवा नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनबाट औपचारिक रूपमा उद्घाटन गरेका हुन्।
यो रेल जिन्द र सोनिपत बीच सञ्चालन हुनेछ, जसलाई वातावरणमैत्री र दिगो यातायाततर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
उद्घाटनसँगै प्रधानमन्त्री मोदीले १२ हजार ४७० करोड रुपैयाँभन्दा बढी लागतका विभिन्न राष्ट्रिय राजमार्ग आयोजनाको शिलान्यास गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्ला वर्षहरूमा भारतीय रेल्वेमा ठूलो रूपान्तरण आएको बताए।
नयाँ हाइड्रोजन रेल करिब ९० किलोमिटर दूरी पार गर्ने क्षमताको छ। करिब ३२०० हार्सपावर क्षमताको यो रेल विश्वकै शक्तिशाली हाइड्रोजन रेलमध्ये एक मानिएको छ।
अश्विनी वैष्णव का अनुसार यो रेल पूर्ण रूपमा वातावरणमैत्री छ र यसमा परम्परागत इन्धनको प्रयोग हुँदैन।
घण्टामा ११० किलोमिटरको डिजाइन गति रहेको यस रेलमा करिब २६०० यात्रु अट्ने क्षमता छ। हाइड्रोजन फ्युल सेल प्रविधिबाट सञ्चालन हुने भएकाले यसले कार्बन उत्सर्जन नगर्ने दाबी गरिएको छ।
भारतीय रेल्वेले आगामी दिनमा यस्ता प्रविधि अन्य रुटहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ।


































