काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत प्रस्थान गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार यो भ्रमण २२ देखि २४ जेठसम्म रहनेछ।
भारतीय विदेशमन्त्री डा. एस.
जयशङ्करको निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना समकक्षीसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
बैठकमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल हुने जनाइएको छ। विशेषगरी व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार तथा जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषय प्राथमिकतामा रहनेछ।
सरकारले नियमित उच्चस्तरीय आदानप्रदानकै रूपमा यस भ्रमणलाई लिएको छ र यसबाट दुई देशबीचको कूटनीतिक तथा ऐतिहासिक सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ।
निर्धारित तालिका अनुसार मन्त्री खनाल २४ जेठमा स्वदेश फर्कनेछन्।




































