काठमाडौँ । वित्तीय प्रणालीमा निरन्तर रूपमा देखिएको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकलाई सकस परेको छ।
हिजो बिहीबार निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब तरलता खिचेको राष्ट्र बैंकले आज शुक्रवार सोही उपकरण मार्फत १४ दिनको लागि ४० अर्ब तरलता खिच्ने भएको छ ।
राष्ट्र बैंकले अल्पकालीन ब्याजदरको उतारचढाव नियन्त्रणका लागि निक्षेप संकलन उपकरणको प्रयोग गर्ने गरेको छ । स्थायी निक्षेप सुविधा मार्फत वित्तीय प्रणालीको तरलता र अन्तर बैंकदर व्यवस्थापन नभएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत वित्तीय प्रणालीको थप तरलता खिच्ने भएको छ ।
२१ बैंक तथा वित्तीय संस्थाहरूले ७५ आवेदन मार्फत ७४ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन उपकरणमा राख्न चाहे पनि राष्ट्र बैंकले औसत ३.०५३७ ब्याजदरमा ५० अर्ब रुपैयाँ मात्र लिएको छ । बैंकहरुले न्यूनतम २.९९९ प्रतिशत देखि अधिकतम ३.१००० प्रतिशतसम्मको ब्याजदर माग गर्दै बोल गरेका थिए।
केन्द्रीय बैंकले तरलता र ब्याजदर व्यवस्थापनका लागि विभिन्न वित्तीय औजार मार्फत अधिक तरलता खिच्ने गर्छ । साथै वित्तीय प्रणालीमा तरलता बढेपछि अन्तर बैंक घट्ने गर्छ । केन्द्रीय बैंकले अल्पकालीन ब्याजदरमा आउने उतारचढाव नियन्त्रणका लागि अन्तर बैंकदर ३ प्रतिशत भन्दा तल आएको खण्डमा निक्षेप संकलन उपकरण जारी गर्छ ।




































