काठमाडौं । केही समयदेखि बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा आउने भएका छन्। चिया क्षेत्रका समस्या समाधान गर्न सरकारबाट प्रतिबद्धता आएपछि उद्योगीहरूले आन्दोलन स्थगित गर्दै उत्पादन सुरु गर्ने निर्णय गरेका हुन्।
भारतीय पक्षले लागू गरेको नयाँ कार्यविधिका कारण नेपाली चियाको निर्यातमा अवरोध आएपछि झापा र इलामका उद्योगहरू प्रभावित बनेका थिए। निर्यात ठप्प हुँदा उद्योग सञ्चालन कठिन भएपछि व्यवसायीहरूले विरोधस्वरूप उद्योग बन्द गरेका थिए।
पछिल्लो चरणमा सरकारले चिया क्षेत्रका समस्या समाधान र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि विशेष पहल थालेपछि व्यवसायीहरू सकारात्मक बनेका छन्। यसैक्रममा सरकारी तहबाट कूटनीतिक र प्रशासनिक रूपमा सहयोग गर्ने आश्वासन प्राप्त भएपछि उद्योग खोल्ने निर्णय गरिएको हो।
उद्योगीहरूले किसानको उत्पादन खेर जाने र मजदुरको रोजीरोटीमा असर पर्ने अवस्थालाई ध्यानमा राख्दै उद्योग बन्द राखिरहन उपयुक्त नदेखिएको बताएका छन्। त्यसैले सरकारको पहललाई सम्मान गर्दै उद्योगहरू सञ्चालनमा ल्याउने निर्णय गरिएको हो।
संघले आन्दोलनका क्रममा साथ दिने सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै दीर्घकालीन समाधानका लागि सरकारी सक्रियताको स्वागत गरेको छ।






































