काठमाडौं । चीन सरकारबाट नेपाललाई प्रदान गरिएको चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुगेको छ।
राहत सामग्री बोकेको चिनियाँ जनमुक्ति सेनाको वायुसेवाको वाई–२०ए विमान मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
विमानस्थलमा आयोजित हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थिति थियो।
चीनले यस चरणमा मुख्य रूपमा विपद् उद्धारमा प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिल पर्मानेन्ट म्याग्नेट फ्लड पम्प, थप ब्याट्री, मर्चरी फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्ती पठाएको छ।
नेपालमा पछिल्लो समय देखिएका विपद्का घटनालाई ध्यानमा राख्दै अति आवश्यक सामग्रीका रूपमा यी उपकरण तथा सामग्री पठाइएको जनाइएको छ। प्राप्त राहत सामग्रीले विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत वितरण तथा त्यसपछिका व्यवस्थापनका काममा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चीनले यसअघि पनि नेपालका विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि विभिन्न चरणमा सामग्री उपलब्ध गराउँदै आएको छ।


































