काठमाडौं । चीन सरकारले नेपालमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि ५० टन आपत्कालीन राहत सामग्री पठाएको छ। राहत सामग्री बोकेका चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला परिवहन विमान आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार विमानमार्फत आपत्कालीन राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा चिनियाँ राहत सामग्री नेपाललाई हस्तान्तरण गरिएको थियो।
चिनियाँ दूतावासका अनुसार राहत सामग्री बोकेका दुवै विमान चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए। करिब तीन घण्टाको उडानपछि ती विमान काठमाडौं आइपुगेका हुन्।
दुवै विमानमा कुल ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याइएको छ। बाढी तथा पहिरो प्रभावित नागरिकका लागि त्रिपाल, कम्बल, सुत्ने झोला, सुख्खा खाद्य सामग्री तथा बिस्कुट र प्राथमिक उपचारका सामग्री ल्याइएको दूतावासले जनाएको छ।
नेपाल–चीन सीमा क्षेत्रसहित देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा पहिरोपछि उद्धार र राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले चीनले राहत सामग्रीसँगै विशेषज्ञ टोली पठाएको हो।
सुरुङ उद्धारसम्बन्धी विशेषज्ञ टोलीले आवश्यकताअनुसार प्रभावित क्षेत्रमा उद्धार तथा प्राविधिक सहयोग उपलब्ध गराउने जनाइएको छ।


































