नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ६९ अर्ब ३० करोड ७७ लाख रुपैयाँबराबरका आईपीओ प्रस्ताव स्वीकृतिको पर्खाइमा रहेका छन्। बोर्डको पछिल्लो तथ्यांकअनुसार १०४ कम्पनीले ४७ करोड २८ लाख ९४ हजार १६३ कित्ता साधारण सेयर (आईपीओ) निष्कासनका लागि आवेदन दिएका छन्।
आवेदन दिने कम्पनीमध्ये उत्पादन तथा प्रशोधन क्षेत्रको हिस्सा सबैभन्दा ठूलो रहेको छ। यस क्षेत्रका ३० कम्पनीले ३५ अर्ब ३५ करोड २२ लाख ८८ हजार रुपैयाँबराबरको १६ करोड ६४ लाख २५ हजार ५३ कित्ता सेयर निष्कासनको अनुमति मागेका छन्। यस सूचीमा जगदम्बा स्टिल्स, अम्बे स्टिल्स, सौर्य सिमेन्ट, मारुती सिमेन्ट्स, लक्ष्मी टेक्नोप्लास्टिक, श्री डिस्टिलरी, महाशक्ति सिमेन्ट र भूगर्भ सिमेन्टलगायतका कम्पनी छन्।
दोस्रो स्थानमा रहेको जलविद्युत् क्षेत्रमा ३४ कम्पनीले १७ अर्ब ५० करोड ३१ लाख रुपैयाँबराबरको १७ करोड १४ लाख ८३ हजार ७३६ कित्ता सेयर निष्कासनका लागि प्रस्ताव पेश गरेका छन्। यस्तै, होटेल तथा पर्यटन क्षेत्रका १८ कम्पनीले ६ अर्ब ४५ करोड १३ लाख रुपैयाँबराबरको पाँच करोड ८२ लाख १३ हजार ९३० कित्ता आईपीओ निष्कासनको अनुमति मागेका छन्।
अन्य व्यावसायिक समूहका १४ कम्पनीले पाँच अर्ब ९० करोड ९९ लाख रुपैयाँबराबरको चार करोड ८६ लाख २१ हजार ६९ कित्ता सेयर निष्कासनको प्रस्ताव गरेका छन्। लगानी समूहका पाँच कम्पनीले तीन अर्ब ४१ करोड ६० लाख रुपैयाँबराबरको दुई करोड १४ लाख कित्ता तथा तीन वटा माइक्रो इन्स्योरेन्स कम्पनीले ६७ करोड ५० लाख रुपैयाँबराबरको ६७ लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्। सेबोनले यो सूची स्वीकृति प्रक्रियामा रहेका निवेदनहरूको विवरण मात्र भएको स्पष्ट गरेको छ।
रकमका आधारमा जगदम्बा स्टिल्सको ६ अर्ब ६२ करोड रुपैयाँ, सौर्य सिमेन्टको पाँच अर्ब ३२ करोड रुपैयाँ, मारुती सिमेन्ट्सको चार अर्ब ९४ करोड रुपैयाँ, सिउरी न्यादी पावरको तीन अर्ब तीन करोड रुपैयाँ तथा रिद्धिसिद्धि सिमेन्टको करिब दुई अर्ब ९९ करोड रुपैयाँबराबरका आईपीओ प्रस्ताव उल्लेखनीय छन्। त्यस्तै, श्री एयरलाइन्सले एक अर्ब २६ करोड रुपैयाँ र डिस मिडिया नेटवर्कले एक अर्ब ९७ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि आवेदन दिएका छन्।
हालसम्म मारुती सिमेन्ट्स, सौर्य सिमेन्ट इन्डस्ट्रिज, जगदम्बा स्टिल्स, हुलास इन्फ्रा, अम्बे स्टिल्स, हुलास आइरन इन्डस्ट्रिज, रिद्धिसिद्धि सिमेन्ट, भगवती स्टिल इन्डस्ट्रिज, छायादेवी कम्प्लेक्स, हुलास फिनसर्भ हायर पर्चेज, कैलाश हेलिकोप्टर, श्री एयरलाइन्स, नुम्बुर हिमालय हाइड्रोपावर तथा शिवम् होल्डिङ्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि आवेदन दिएका छन्।
यता, सरकारले नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्टलाई सेबोनको अध्यक्ष नियुक्त गरे पनि एक सातासम्म पदबहाली हुन सकेको छैन। अध्यक्षको पदबहालीमा भएको ढिलाइका कारण बोर्डका नीतिगत निर्णय तथा आईपीओ स्वीकृति प्रक्रिया प्रभावित भएको छ।
लामो समयदेखि आईपीओ स्वीकृतिको प्रतीक्षामा रहेका कम्पनीहरूले नयाँ अध्यक्षले पदभार ग्रहण गरेपछि अनुमति प्रक्रियाले गति लिने अपेक्षा गरेका छन्। विगतमा आईपीओ स्वीकृतिमा अनियमितता र कमिसन सम्बन्धी आरोप उठेकाले नयाँ नेतृत्वमाथि प्रक्रिया पारदर्शी र विश्वासयोग्य बनाउने चुनौती पनि रहेको छ।

































