काठमाडौं । तराई–मधेशमा आन्दोलनले उग्ररुप लिएपछि उद्योगी–व्यवसायीहरु चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र एकताका लागि अपिल गरेका छन् ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थिति समाधानका लागि नेपाल उद्योग परिसंघ सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गरेको छ । परिसंघले विज्ञप्ति जारी गर्दै ‘सदियौं देखि नेपाल धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक हो । हाम्रो यो विशिष्ट पनलाई कायम राख्दै सामाजिक, धार्मिक एवं साम्प्रदायिक सहिष्णुतालाई कायम राख्न परिसंघ सबैमा हार्दिक अपिल गर्दछ ।’ भनेको छ ।
कुनै पनि समस्या, असन्तुष्टि वा विवाद वार्ताका माध्यमबाट समाधान भएको उदाहरण प्रशस्त छन् । त्यसैले कुनै पनि समस्याको समाधान आन्दोलन, हिंसा वा मुठभेडबाट नहुने हुँदा संयमता अपनाई आपसि सद्भाव कायम राखी मुलुकमा शान्ति सुव्यवस्था, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न परिसंघ सबैमा आह्वान गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा छ । रोजगारी सिर्जना गर्दै समग्र अर्थतन्त्रलाई अगाडि बढाउन अतिआवश्यक रहेको अवस्थामा यस्ता घटनाले सबैलाई निराश बनाउँछ । आन्दोलनका क्रममा जनधनको क्षतिसहित सार्वजनिक एवं निजी सम्पत्तिमाथि तोडफोड, बजार, पसल बन्द गराउने तथा लुटपाटको घटनाले अत्यन्त दुखित एवं चिन्तित बनाएको हुँदा आम नागरिक तथा उद्योग व्यवसायलाई पूर्ण सुरक्षाको प्रत्याभूती दिलाउन समेत परिसंघ नेपाल सरकार तथा सरोकारवाला सबै समक्ष अनुरोध गर्दछ ।’
साथै, मुलुकमा सामाजिक, धार्मिक एवं साम्प्रदायिक सहिष्णुतालाई कायम राख्दै सद्भाव कायम गर्न समाजका अन्य संघ संस्थाहरुसँगको सहकार्यमा सद्भाव ¥यालीलगायतका शान्ति स्थापना गर्न सहयोग गर्ने गतिविधि गर्न परिसंघका सबै प्रदेश तथा जिल्ला संघ एवं निजी क्षेत्रका अन्य संघ संस्थाहरुलाई पनि परिसंघ आग्रह गरेको हो ।
यसैगरी, नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै घटेका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । चेम्बरले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै वर्तमान परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग आग्रह गरेको छ ।
बुधबार जारी वक्तव्यमा नेपाल चेम्बर अफ कमर्सले नेपाल विभिन्न धर्म, संस्कृति तथा समुदायबीचको आपसी सम्मान, सद्भाव र सहअस्तित्वको भावनामा आधारित राष्ट्र भएको उल्लेख गर्दै यही विविधता देशको सबैभन्दा ठूलो शक्ति रहेको जनाएको छ । चेम्बरले सामाजिक सद्भाव र सहिष्णुताको संरक्षण तथा प्रवद्र्धन गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएको बताएको छ ।
चेम्बरले संवेदनशील परिस्थितिमा अफवाह, भ्रामक सूचना तथा कुनै पनि प्रकारका हिंसात्मक गतिविधिबाट टाढा रहन नागरिकहरूलाई अपिल गरेको छ । वक्तव्यमा कुनै पनि असहमति वा मतभेद मानव जीवन, सामाजिक सद्भाव र राष्ट्रिय एकताभन्दा ठूलो हुन नसक्ने उल्लेख गरिएको छ ।
नेपाल चेम्बर अफ कमर्सले शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, प्रतिपक्षी दल तथा समुदायका अगुवाहरूले गरिरहेका प्रयासहरूको प्रशंसा गरेको छ । साथै, सबै सम्बन्धित पक्षलाई खुला संवाद, पारदर्शिता, निष्पक्षता तथा आपसी सम्मानका आधारमा निरन्तर समन्वय र सहकार्य गर्न आग्रह गरिएको छ ।
वक्तव्यमा धार्मिक अगुवा, सामाजिक संघसंस्था, युवा समूह, नागरिक समाज, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई सामाजिक सद्भाव अभिवृद्धि गर्न, सबै धर्म र समुदायप्रति सम्मानको भावना विकास गर्न तथा एकतामूलक वातावरण निर्माणमा सक्रिय योगदान दिन अनुरोध गरिएको छ । दिगो शान्ति र स्थायित्व सबैको साझा प्रयासबाट मात्र सम्भव हुने चेम्बरको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सले आर्थिक समृद्धि र सामाजिक सद्भाव एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै स्थिर र सुरक्षित वातावरणमा मात्र व्यवसाय, उद्योग तथा लगानी विस्तार हुन सक्ने जनाएको छ । समुदायहरूबीचको एकताले परिवार, समाज र अर्थतन्त्रलाई बलियो बनाउने विश्वास पनि चेम्बरले व्यक्त गरेको छ ।
चेम्बरले प्रभावित व्यवसायहरूको पुनःस्थापना, समुदायबीच सहकार्य तथा जनविश्वास पुनर्निर्माणका लागि आवश्यक सकारात्मक पहलमा साथ दिन सदैव तयार रहेको प्रतिबद्धता जनाएको छ । सरकार, स्थानीय समुदाय तथा सरोकारवालासँगको सहकार्यमार्फत निजी क्षेत्रले पुनर्निर्माण, पुनरुत्थान तथा दीर्घकालीन शान्ति र समृद्धि स्थापनामा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास वक्तव्यमा व्यक्त गरिएको छ ।
नेपाल चेम्बर अफ कमर्सले वर्तमान समय विभाजनभन्दा सहिष्णुता, टकरावभन्दा संवाद र मतभेदभन्दा राष्ट्रिय एकतालाई प्राथमिकता दिने समय भएको उल्लेख गर्दै सबै नेपालीलाई सद्भाव, सहिष्णुता र सामाजिक एकताको गौरवशाली परम्परालाई थप सुदृढ बनाउन आह्वान गरेको छ ।
चेम्बरले सरकार, प्रतिपक्षी दल, निजी क्षेत्र, समुदायका अगुवा, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनताबीचको सहकार्य, विश्वास र एकतामार्फत प्रभावित क्षेत्रमा चाँडै नै शान्ति पूर्णरूपमा पुनःस्थापित हुने तथा ती क्षेत्र अझ एकताबद्ध, सुदृढ र समृद्ध बन्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।

































