National life

गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२४ असार २०८३, बुधबार
837Shares
गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर
ncell

हेटौँडा  । केही वर्षअघिसम्म हेटौँडा उपमहानगरपालिका–१२ घलेगाउँकी ३८ वर्षीया श्रिया गुरुङको दैनिकी अधिकांश ग्रामीण महिलाजस्तै थियो।

बिहानदेखि साँझसम्म घरधन्दा, खेतबारी र पशुपालनमै समय बित्थ्यो। दिनभरि मिहिनेत गरे पनि आफ्नै आम्दानी थिएन। परिवारको खर्च श्रीमान्को कृषि आम्दानीमा निर्भर थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एउटी छोरीको भविष्य, घरखर्च र बढ्दो आर्थिक दायित्वले उनलाई सधैँ पिरोल्थ्यो।

‘आफ्नो कमाइको एक रुपैयाँ पनि थिएन। भविष्यको चिन्ता धेरै थियो, तर केही गर्ने आधार थिएन,’ श्रिया विगत सम्झिन्छिन्। गाउँघरमा हरेक वर्ष बनाइने गुन्द्रुक उनको लागि एउटा परम्परागत परिकार मात्रै थियो। त्यसलाई व्यवसाय बनाएर आम्दानी गर्न सकिन्छ भन्ने सोच गाउँमा कसैको थिएन।

तर आज त्यही गुन्द्रुकले उनको जीवन मात्रै होइन, गाउँका धेरै महिलाको भविष्य पनि बदलिरहेको छ। ‘हामीलाई त गुन्द्रुक बेचेर पनि उद्यमी बन्न सकिन्छ भन्ने लागेको थिएन। त्यो सपना ग्रिन फाउन्डेसन नेपालले देखायो, अनि हेटौँडा उपमहानगरपालिकाले त्यसलाई व्यवहारमा उतार्ने वातावरण बनाइदियो,’ उनी भन्छिन्।

ग्रिन फाउन्डेसन नेपालबाट तालिम र आवश्यक सामग्री पाएपछि तथा हेटौँडा उपमहानगरपालिकाबाट सीपमूलक तालिम, प्रारम्भिक आर्थिक सहयोग र व्यवसाय सञ्चालनसम्बन्धी परामर्श पाएपछि श्रियाले गाउँका अन्य महिलासँग मिलेर कञ्चनजङ्घा कृषि सहकारी संस्था लघु उद्यमी उद्योग स्थापना गरिन्। सुरुआत निकै सानो थियो। समूहका महिलाले प्रतिकट्ठा वार्षिक एक हजार ५०० रुपैयाँका दरले १५ कट्ठा जग्गा भाडामा लिए।

आफ्नै पसिनाले रायोको साग खेती गरे र त्यसबाट अर्गानिक गुन्द्रुक उत्पादन सुरु गरे। तर उत्पादन सफल भए पनि बजारसम्म पुग्ने बाटो सहज थिएन। पहिलो वर्ष लाखौँ रुपैयाँ बराबरको गुन्द्रुक उत्पादन भयो। तर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञापत्र नहुँदा उत्पादन गोदाममै थन्कियो। बजारमा बिक्री गर्न नपाउँदा लगानी डुब्ने चिन्ताले उनीहरूलाई निराश बनायो।

‘यति दुःख गरेर उत्पादन गर्‍यौँ, तर बेच्न नपाउँदा मेहनत खेर जाने हो कि भन्ने डर लाग्थ्यो। तर हामीले हार मानेनौँ,’ श्रिया भन्छिन्। अन्ततः हेटौँडा उपमहानगरपालिकाको सहजीकरणमा उद्योगले सरकारी अनुज्ञापत्र प्राप्त गर्‍यो। त्यसपछि बजारको विश्वास बढ्यो। व्यवसायी आफैँ सम्पर्कमा आउन थाले। उत्पादनको माग बढ्दै गयो र गोदाममा थन्किएको गुन्द्रुक बजार पुग्न थाल्यो।

‘पहिले बिक्री होला कि नहोला भन्ने चिन्ता थियो। अहिले त मागअनुसार उत्पादन पुर्‍याउनै मुस्किल भइरहेको छ,’ उनी मुस्कुराउँदै भन्छिन्। ११ सदस्यबाट सुरु भएको समूह अहिले २० सदस्यीय बनेको छ। १५ कट्ठाबाट सुरु भएको खेती ३० कट्ठामा विस्तार भएको छ भने अब ५० कट्ठासम्म पुर्‍याउने तयारी छ। समूहले आगामी दिनमा ५० भन्दा बढी स्थानीय महिलालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य पनि लिएको छ।

अहिले समूहले उत्पादन गरेको अर्गानिक गुन्द्रुक मकवानपुर, सिन्धुली र काठमाडौंसम्म पुगिरहेको छ। प्रतिकिलो ८०० रुपैयाँमा बिक्री हुने गुन्द्रुकको माग लगातार बढ्दो छ।

गुन्द्रुकसँगै समूहले वर्षको बाँकी समयमा विभिन्न प्रकारका अचार पनि उत्पादन गर्छ। हालसम्म करिब ३०० किलोग्राम अचार उत्पादन गरी प्रतिकिलो एक हजार रुपैयाँका दरले बिक्री गर्दै आएको छ। यसबाट एक उत्पादन चक्रमै करिब तीन लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ।

रसायनमुक्त अर्गानिक खाद्य पदार्थप्रति उपभोक्ताको आकर्षण बढेसँगै समूहको उत्पादनको बजार पनि विस्तार भइरहेको छ। स्थानीय उत्पादनलाई आधुनिक बजारसँग जोडेर महिलाले गाउँमै आम्दानीको नयाँ सम्भावना सिर्जना गरेका छन्।

श्रियाको जीवनमा आएको परिवर्तन आर्थिक पक्षमा मात्र सीमित छैन। पहिले श्रीमान्को आम्दानीमा निर्भर रहने उनी अहिले आफ्नै कमाइबाट परिवार चलाउँछिन्, छोरीको शिक्षामा लगानी गर्छिन् र समूहका अन्य महिलालाई नेतृत्व गरिरहेकी छन्। ‘घरमै बसेर केही हुँदैन भन्ने सोच बदलिएको छ। अवसर, सीप र बजार पाए गाउँका महिलाले पनि धेरै गर्न सक्छन् भन्ने प्रमाण हामीले दिएका छौँ,’ उनी भन्छिन्।

हेटौँडा उपमहानगरपालिकाको करिब एक लाख रुपैयाँ र सहकारीको ८० हजार रुपैयाँ प्रारम्भिक लगानीबाट सुरु भएको यो उद्यम आज ग्रामीण महिलाको आर्थिक रूपान्तरणको उदाहरण बनेको छ। परम्परागत गुन्द्रुकलाई व्यवसायमा रूपान्तरण गर्दै महिलाले गाउँमै रोजगारी सिर्जना गरेका छन् भने स्थानीय कृषि उत्पादनलाई आर्थिक मूल्यसँग पनि जोड्न सफल भएका छन्।

एक समय आफ्नो भविष्यप्रति चिन्तित रहने श्रिया आज गाउँका महिलाका लागि प्रेरणाको नाम बनेकी छन्। उनको सफलताको कथा एउटा गुन्द्रुक उद्योगको मात्र होइन, अवसर, सीप, स्थानीय सरकारको साथ र आत्मविश्वास जोडिँदा गाउँमै बसेर पनि सम्मानजनक जीवन र दिगो आम्दानी सम्भव हुन्छ भन्ने प्रेरणादायी उदाहरण हो।

यो समाचार शेयर गर्नुहोस्
837SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?