काठमाडौँ । आज ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
तर गृह मन्त्रालयले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा फोटो तथा भिडियो खिच्न नदिएपछि पत्रकारहरूले सैनिक मञ्च, टुँडिखेलको गेट बाहिर क्यामरा डाउन गरेका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा फोटो तथा भिडियो खिच्न नदिएको भन्दै पत्रकारहरूले क्यामरा डाउन गरेका छन्। पत्रकारहरूले सांकेतिक विरोध स्वरूप क्यामरा डाउन गरेका हुन्।
सूचना विभागको कार्ड देखाउँदा समेत भित्र प्रवेश नपाएको र बाहिरी भागमा देखिएको रौनकको समेत फोटो भिडियो लिन नदिएको भन्दै त्यहाँ उपस्थित सबै पत्रकारहरूले क्यामेरा डाउन गरेका हुन् ।
यता सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिपरिषद् सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू,सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकृतलगायतको उपस्थिति रहेको छ।






































