काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङको जोखिम अझै कायम रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री शाहले असोज ९ गतेदेखि हालसम्म चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा २१ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते पाँच जनाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले बताएका छन् ।
प्रधानमन्त्रीका अनुसार देशभर बाढी, पहिरो, डुबान र चट्याङका ४३९ वटा मनसुनजन्य घटना भएका छन् भने पाँच जना बेपत्ता छन् । मनाङको हिमपहिरोमा मानिस बेपत्ता भएको सूचना प्राप्त भएकाले विवरण सङ्कलन भइरहेको उनले बताए।
उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै बेपत्ताको खोजी, बाढीमा फसेका मानिस तथा पशुचौपायाको उद्धार र प्रभावित परिवारका लागि अस्थायी बसोबासको व्यवस्था भइरहेको बताए । सुरक्षाकर्मीलाई उद्धार तथा राहतका लागि पूर्ण तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।
बाढी तथा पहिरोका कारण पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकमार्गसहित विभिन्न सडक प्रभावित भएको तथा केही सडक र पुलमा क्षति पुगेको प्रधानमन्त्रीले बताएका छन् । क्षतिग्रस्त सडक तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको उनले बताए ।
































