काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना तय गरिरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शर्माले धेरैलाई रोजगारी दिन साना साना उद्यमशीलताका कार्यक्रमसहित विकासको लहर ल्याउन सरकारले अभ्यास गरिरहेको बताएका हुन् ।
देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरू विदेशिने क्रम बढेकोप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेकाले युवाहरूले यसका लागि समयमै सोच्नुपर्ने बताएका हुन्। उनले हाल जनसङ्ख्या वृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरूलाई आग्रह समेत गररेका छन् ।
प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउन सक्नुपर्ने बताए । उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले हाम्रा बच्चाहरू अभिभावकविहीन भएर सडकमा बस्न नमिल्ने स्पष्ट पारे ।





































