काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागिता रहेको बैठकमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयनका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे छलफल भएको छ ।
प्रस्तुत समीक्षा र योजनाका आधारमा मुख्य क्रियाकलाप तथा माइल स्टोन समावेश गरी प्रधानमन्त्री र मन्त्रीहरूबिच छिट्टै कार्यसम्पादन सम्झौता हुने मुख्यसचिव लीलादेवी गड्तौलाले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०८०/०८१ मा समग्रमा ६३ दशमलव ४४ प्रतिशत पुँजीगत खर्च भएको र तीन हजार चार सय २१ क्रियाकलापमध्ये ४९ प्रतिशत सम्पन्न भएको उल्लेख गरेका छन् ।
किसानको मल आपूर्तिमा सहजता भएको, दुर्गममा जोखिमको अवस्थामा रहेका सुत्केरीको हवाइबाट उद्धार गरिएको, पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान आरम्भ भएको आदि उपलब्धि देखिएको छ ।
आर्थिक वर्षको सुरुवातदेखि नै बजेट र कार्यक्रम कार्यान्वयन योजना तर्जुमामा सरकारले तदारुकता देखाएको हो । यसअघि प्रधानमन्त्री ओलीले यही साउन १५ गते प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवहरूलाई सेवा प्रवाहमा सुधार र प्रभावकारिताका विषयमा निर्देशन दिएका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवहरूको सहभागिता रहेको छ ।





































