काठमाडौँ । नापी विभागले जग्गासम्बन्धी सेवा सहज बनाउन ‘मेरोकित्ता’ नामक मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले उक्त एप औपचारिक रूपमा सार्वजनिक गरेकी हुन्।
नयाँ एपमार्फत नागरिकले घरमै बसेर विभिन्न भूमि सेवामा पहुँच पाउनेछन्। विभागका अनुसार यो एप एन्ड्रोइड र आईओएस दुवै प्रणालीमा उपलब्ध छ र सम्बन्धित एप स्टोरहरूबाट डाउनलोड गर्न सकिन्छ।
एप प्रयोग गरी नक्सा प्रिन्ट, फिल्डबुक तथा प्लट रजिस्टर उतार लगायतका सेवाका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ। साथै, फिल्ड रेखांकन सेवाका लागि पनि डिजिटल माध्यमबाटै आवेदन प्रक्रिया अघि बढाउन सकिनेछ।
सेवाग्राहीले आवेदन दर्ता गरेपछि प्राप्त हुने ओटीपीको सहायताले आफ्नो निवेदनको स्थिति अनुगमन गर्न सक्नेछन्। राजस्व भुक्तानीका लागि ई–सेवा, खल्ती र कनेक्ट आईपीएस जस्ता डिजिटल माध्यम समावेश गरिएको छ।
एपमा सम्बन्धित नापी कार्यालयका जिम्मेवार अधिकारीहरूको सम्पर्क विवरण पनि उपलब्ध गराइएको छ। यस सेवा वेब प्लेटफर्ममार्फत पनि प्रयोग गर्न सकिने विभागले जनाएको छ।
मन्त्री रावलले डिजिटल प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा वितरणलाई सरल र पहुँचयोग्य बनाउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै यस्तो प्रणालीले पारदर्शिता र कार्यक्षमता बढाउने विश्वास व्यक्त गरिन्।


































