काठमाडौं। याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने समय आज अन्तिम दिन रहेको छ। । कम्पनीले चैत ८ गतेदेखि बिक्री खुला गरेको उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आज (चैत ११ गते) सम्म मात्रै आवेदन दिन सक्नेछन्।
कम्पनीले आफ्नो ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ।
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरूबाट ‘C-ASBA’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्लेटफर्म प्रयोग गरेर पनि सजिलै आवेदन दिन सकिने व्यवस्था रहेको छ।






































