काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको भोलिपल्ट नै सेयर बजारमा गिरावट देखिएको छ। बुधबार नेप्से परिसूचक ३०.०९ अंक (१.१३ प्रतिशत)ले घटेर २६२१.५९ विन्दुमा सीमित भएको हो।
ठूला तथा बलिया कम्पनीहरूको प्रदर्शन मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.८५ प्रतिशतले घट्दै ४५६.६८ विन्दुमा झरेको छ। बजारमा सूचीकृत ३६२ कम्पनीका ८४ लाख ६३ हजारभन्दा बढी कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम ४ अर्ब ८२ करोड रुपैयाँ नाघेको छ, जुन अघिल्लो दिनको तुलनामा केही बढी हो।
कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड बाहेक सबै समूहमा गिरावट देखिएको छ। म्युचुअल फण्डमा सामान्य ०.११ प्रतिशत वृद्धि हुँदा अन्य समूहहरू राताम्य भएका छन्।
आजको कारोबारमा केबीएल डिबेन्चर २०८९ अग्रस्थानमा रहँदै ६२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यस्तै एनसीसी, सानिमा डिबेन्चर तथा आँखुखोला जलविद्युतमा पनि उल्लेख्य कारोबार भएको देखिन्छ।
बजार घटेपनि केही डिबेन्चर र योजनाहरूले सकारात्मक प्रदर्शन गरेका छन्। एनएमबी डिबेन्चर २०८७/८८ सबैभन्दा बढी ५.५२ प्रतिशतले बढ्दा प्रभु बैंक डिबेन्चर, स्नो रिभर र कुमारी सबल योजनामा पनि वृद्धि देखिएको छ।
तर, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३.४१ प्रतिशतले घटेको छ। यसैगरी उपकार लघुवित्त र सानिगाड हाइड्रोका लगानीकर्ताले पनि उल्लेख्य घाटा बेहोरेका छन्।
समग्रमा मौद्रिक नीतिपछि लगानीकर्तामा देखिएको सावधानीले बजारमा बिक्री दबाब बढाएको विश्लेषण गरिएको छ।





































