काठमाडौं । विश्वव्यापी राइड–हेलिङ कम्पनी उबरले नेपालमा आफ्नो आधिकारिक सेवा सञ्चालनमा ल्याएको छ। यससँगै नेपाल एसिया–प्रशान्त क्षेत्रमा उबरको ११औँ गन्तव्य बनेको छ भने दक्षिण एसियामा पछिल्ला वर्षहरूमा कम्पनीले प्रवेश गरेको पहिलो नयाँ बजारका रूपमा पनि जोडिएको छ।
कम्पनीले प्रारम्भिक चरणमा चारपाङ्ग्रे सवारीका लागि ‘Uber Go’ र ‘Uber Comfort’ तथा दुईपाङ्ग्रे सेवाका रूपमा ‘Uber Bike’ उपलब्ध गराउने जनाएको छ। यी सेवामार्फत यात्रुहरूलाई सुरक्षित, सहज र आधुनिक यात्रा अनुभव प्रदान गर्ने लक्ष्य रहेको कम्पनीले स्पष्ट पारेको छ।
उबरका एपीएसी क्षेत्रीय प्रमुख डोनिक टेलरले नेपाललाई डिजिटल रूपान्तरण तीव्र गतिमा अघि बढिरहेको तथा पर्यटन र सहरी गतिशीलतामा ठूलो सम्भावना भएको बजारका रूपमा चित्रण गरेका छन्। उनका अनुसार नेपालमा प्रवेश कम्पनीको क्षेत्रीय विस्तार रणनीतिको महत्वपूर्ण हिस्सा हो।
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले उबरको आगमनले पर्यटन क्षेत्रलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले विदेशी पर्यटकका लागि आवागमन सहज हुनु पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले पनि उबरको सुरुआतलाई डिजिटल र आधुनिक यातायात प्रणाली विकासतर्फको महत्वपूर्ण कदमका रूपमा उल्लेख गर्दै यसले रोजगारी र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने धारणा राखेका छन्।
हाल उबर ७० भन्दा बढी देशमा सञ्चालनमा छ। कम्पनीले नेपालमा स्मार्टफोन प्रयोगको वृद्धि, सहरी यातायातको माग र पर्यटन क्षेत्रको विस्तारलाई आधार मानेर सेवा सुरु गरेको जनाएको छ।





































