काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।
सोमबार साझ बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा गठित समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा.पौडेललाई सदस्यका रूपमा चयन गरेको छ।
राष्ट्र बैंकको नेतृत्व चयन राजनीतिक सहमति र भागबण्डाको आधारमा अघि बढेको देख्न सकिन्छ।
सत्तारूढ गठबन्धनको समीकरणसँगै नेपाली कांग्रेस निकट उम्मेदवारहरूबीच गभर्नर बन्ने होडबाजी तीव्र भएको छ। मुख्य प्रतिस्पर्धीका रूपमा नेपाल राष्ट्र बैंकका संचालक रविन्द्र पाण्डे, नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना, र राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भेटघाट र सम्भावना बढाएका छन् ।
गभर्नर छनोट प्रक्रियामा बैंक तथा वित्तीय क्षेत्रका मालिकहरूको प्रभाव, शक्ति सन्तुलन, र राजनीतिक दबाबको भूमिका बढ्दै गएको बताइन्छ। कतिपय अर्थविद्हरूले स्वतन्त्र र व्यावसायिक व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने तर्क गरे पनि नयाँ नेतृत्व सत्ता समीकरणकै आधारमा चयन हुने सम्भावना बढी देखिएको छ।






























