काठमाडौं । नेपालमा संचालित १४ जीवन बीमा कम्पनीहरुले चालु आवको माघ महिनासम्ममा १६ अर्बभन्दा बढीको प्रथम बीमा शुल्क आर्जन गरेका छन्। बीमा प्राधिकरणले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार माघ महिनासम्ममा पाँच कम्पनीको प्रथम बीमा शुल्क आम्दानी वृद्धि भएको छ भने ९ बीमा कम्पनीको प्रथम बीमा शुल्क घटेको छ । देशमा पछिल्लो समयमा देखिएको आर्थिक मन्दीकाबीच पनि जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क संकलन मात्र दुई प्रतिशतले घटेको छ ।
यस अवधीमा नेपाल लाइफको प्रथम बीमा शुल्क आम्दानी २१.३० प्रतिशतले बृद्धि भई तीन अर्ब ६७ करोड पुगेको छ ।


जीवन बीमा कम्पनीहरुले सात महिनामा संकलन गरेको १७ अर्ब प्रथम बीमा शुल्क मध्ये सबैभन्दा धेरै नेपाल लाइफले तीन अर्ब ६७ करोड, नेशनल लाइफले दुई अर्ब ३५ करोड, हिमालयन लाइफले एक अर्ब २० करोड, एलआईसी नेपालले एक अर्ब १९ करोड, सुर्यज्योति लाइफले एक अर्ब १५ करोड, सिटिजन लाइफले ९५ करोड एशियन लाइफले ८९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।
त्यस्तै, सानिमा रिलायन्सले ८५ करोड, सन नेपालले ७७ करोड, आइएमई लाइफले ७६ करोड, रिलायबल नेपाल लाइफले ७४ करोड, मेट लाइफले ७२ करोड, प्रभु महालक्ष्मी लाइफले ४५ करोड र राष्ट्रिय जीवन बीमा कम्पनीले ३५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।




































