काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरूको व्यवसाय १६.८५ प्रतिशतले बढेको छ। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले असोज मसान्तसम्म ५७ अर्ब ५२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए। यसअनुसार एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क ८ अर्ब २९ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको छ।
कम्पनीगत तथ्यांकअनुसार १४ मध्ये ११ कम्पनीको बीमाशुल्क वृद्धिदर दोहोरो अंकमा रहेको छ। त्यस्तै, ८ कम्पनीले २० प्रतिशतभन्दा बढी व्यवसाय विस्तार गरेका छन्।
कुल बीमाशुल्क संकलनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। त्यसपछि नेशनल लाइफ, एलआईसी नेपाल, हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीले अग्रस्थान कायम गरेका छन्।
तर व्यवसाय वृद्धिदरका आधारमा आइएमई लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ४३.२० प्रतिशतले बढाएर करिब २ अर्ब १७ करोड रुपैयाँ पुर्याएको छ।
त्यस्तै, प्रभु महालक्ष्मी लाइफको बीमाशुल्क ३१.४१ प्रतिशतले बढेर करिब १ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। नेशनल लाइफले पनि २९.५१ प्रतिशतको वृद्धि हासिल गर्दै ७ अर्ब ३६ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ संकलन गरेको थियो।
यसैगरी रिलायबल नेपाल लाइफको बीमाशुल्क २७.०७ प्रतिशत, सन नेपाल लाइफको २५ प्रतिशत, सानिमा रिलायन्स लाइफको २३.८० प्रतिशत, एशियन लाइफको २२.६० प्रतिशत र सूर्यज्योति लाइफको २२.०३ प्रतिशतले बढेको छ।
हिमालयन लाइफको बीमाशुल्क १६.१२ प्रतिशत, सिटिजन लाइफको १५.६८ प्रतिशत र मेट लाइफको १२.१९ प्रतिशतले वृद्धि भएको छ।
ठूला बीमा कम्पनीमध्ये एलआईसी नेपालको बीमाशुल्क ९.५२ प्रतिशत र नेपाल लाइफको ९.४७ प्रतिशतले बढेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीको वृद्धिदर भने ६.६१ प्रतिशतमा सीमित रहेको छ।


































