काठमाडौँ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरोधी माग राख्दै जेनजिले गरेको प्रदर्शनका कारण भरतपुर केहीबेर तनावग्रस्त बनेको छ। भरतपुर महानगरपालिकाको कार्यालयमा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए ।
महानगरपालिकाको कार्यालयभित्र प्रवेश गर्ने प्रयास गर्दै प्रदर्शनकारीले तोडफोड गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो। त्यसपछि प्रदर्शनकारीहरू तितरबितर भएका थिए।
भरतपुर बिहानसम्म शान्त थियो तर केही प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि करिब एक घण्टा प्रदर्शन गरेपछि फर्किएका थिए। दिउँसो साढे १ बजेपछि उनीहरू महानगरपालिका अगाडि भेला भएर प्रदर्शन शुरू गरेका थिए। अहिले पानी परेसँगै प्रदर्शनकारीहरू तितरबितर भएका छन्।


































