काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम मंगलबार पनि जारी रहेको छ। साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ९.६२ अंकले घटेको हो।
मंगलबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ अंकमा झरेको छ।
आज कुल १ करोड १० लाख ६९ हजार कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम भने ४ अर्ब ६५ करोड ४८ लाख रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य घटेको छ। आज ६९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९९ वटा कम्पनीको मूल्य घटेको छ। त्यस्तै, १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
बढ्ने कम्पनीतर्फ आइसीएफसी फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.१८ प्रतिशत बढेको छ। त्यस्तै, सयपत्री हाइड्रोपावरको ६.७९ प्रतिशत, नेपाल एसबीआई डिबेन्चरको ६.४२ प्रतिशत, सर्वोत्तम पेन्ट्सको ६.२९ प्रतिशत र सानिमा ग्रोथ फण्डको ३.८२ प्रतिशतले सेयर मूल्य बढेको छ।
त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २२ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
शिवम् सिमेन्टको १७ करोड २५ लाख, सिद्वार्थ बैंकको १६ करोड ५८ लाख, गरिमा विकास बैंकको १५ करोड १ लाख, हाथ्वे इन्भेष्टमेन्टको १३ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
मंगलबारको कारोबारमा अधिकांश कम्पनीको मूल्य घटेसँगै बजारमा निरन्तर देखिएको कमजोर प्रवृत्ति कायमै रहेको छ।

































