National life

विद्युत् पूर्वाधारमा बाढीपहिरोको क्षति, १ हजार ३०३ मेगावाटसम्म असर

बाढीपहिरोले प्रसारण लाइन र सबस्टेसनमा क्षति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|११ असोज २०८३, आइतबार
380Shares
विद्युत् पूर्वाधारमा बाढीपहिरोको क्षति, १ हजार ३०३ मेगावाटसम्म असर
ncell

काठमाडौं । लगातारको वर्षापछि आएको बाढीपहिरोले देशका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण तथा वितरण प्रणालीमा क्षति पुर्‍याउँदा आपूर्ति प्रभावित भएको छ। प्रसारण लाइनमा फाल्ट आउनुका साथै उत्पादन केन्द्र र सबस्टेसनका उपकरणमा समस्या देखिएपछि विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पोखरा, बुटवल, हेटौंडा र काठमाडौं आसपासको विद्युत् प्रणालीमा उल्लेख्य प्रभाव परेको छ। विभिन्न समयमा लाइन, विद्युत् उत्पादन र लोडतर्फ देखिएको अवरोध जोड्दा करिब १,३०३ मेगावाट बराबरको प्रणाली प्रभावित भएको मन्त्रालयले जनाएको छ।

Royal Enfield
nic asia capital

तर, उक्त परिमाण एकैपटकको विद्युत् कटौती नभई फरक–फरक समय र स्थानमा भएका अवरोधको कुल क्षमता हो।

बाढीपहिरोको सबैभन्दा ठूलो प्रभाव पोखरा क्षेत्रमा देखिएको छ। कुस्मा–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा फाल्ट आएपछि करिब २०० मेगावाट बराबरको विद्युत् प्रभावित भएको छ।

रौघाट–दाना प्रसारण लाइनका दुईवटै खण्डमा समस्या आएपछि थप करिब १५५ मेगावाट बराबरको प्रणाली प्रभावित भएको मन्त्रालयले जनाएको छ।

बाढीका कारण कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदीलगायतका जलविद्युत् आयोजनाको उत्पादन तथा विद्युत् आपूर्तिमा समेत असर परेको छ। पोखरा क्षेत्रका आयोजनाबाट मात्रै ४०० मेगावाटभन्दा बढी क्षमतामा प्रभाव परेको बताइएको छ।

रौघाट क्षेत्रमा न्यू बुटवल–कुस्मा २२० केभी लाइनमा आएको फाल्टका कारण करिब ११० मेगावाट प्रभावित भएको थियो। लाइन पुनः सञ्चालनका लागि प्राविधिक काम अघि बढाइएको थियो।

बुटवल क्षेत्रमा न्यू भारतपुर–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा रुख ढलेपछि फाल्ट आएको थियो। उक्त लाइन पुनः सञ्चालनमा ल्याइएको विवरणमा उल्लेख छ।

त्यस्तै चापर–पथलैया १३२ केभी लाइन अवरुद्ध हुँदा कावासोती सबस्टेसनमा केही समय लोड कटौती गरिएको थियो।

हेटौंडा क्षेत्रमा पनि बाढीका कारण विद्युत् प्रणाली प्रभावित भएको छ। माण्डु ६६ केभीमा आएको बाढीबाट करिब ३२ मेगावाट बराबरको प्रणाली प्रभावित भएको मन्त्रालयले जनाएको छ।

कावासोती–भारतपुर १३२ केभी लाइनअन्तर्गत भारतपुर सबस्टेसनमा सीभीटीमा समस्या आएपछि विद्युत् आपूर्तिमा अवरोध भएको थियो। सिमरा सबस्टेसन, अमलेखगञ्ज, परवानीपुर तथा वीरगञ्जका उद्योग र अन्य क्षेत्रमा समेत विद्युत् आपूर्तिमा असर परेको छ।

बाढीपहिरोको प्रभाव काठमाडौं उपत्यकासम्म देखिएको छ। पाटन र टेकु क्षेत्रमा केही समय विद्युत् सेवा अवरुद्ध भएको थियो।

पाटन क्षेत्रमा दुईवटा प्रसारण लाइन एकै समयमा ओभरलोड हुँदा समस्या उत्पन्न भएको विवरणमा उल्लेख छ। नियमित आपूर्तिमा समस्या आएपछि वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्ति कायम गर्ने प्रयास गरिएको थियो।

यसैगरी कावासोती र हरदीलगायतका विभिन्न सबस्टेसनमा समेत प्रणाली सन्तुलन कायम गर्न केही समय लोड कटौती गरिएको थियो।

नेपाल विद्युत् प्राधिकरणले बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको प्रारम्भिक विवरण संकलन गर्दै विद्युत् आपूर्ति पुनःस्थापनाको काम अघि बढाएको जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार प्रभावित क्षेत्रमा प्राविधिक तथा मर्मत टोली परिचालन गरिएको छ। सम्भव भएका स्थानमा वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनाबाट विद्युत् आपूर्ति सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले बताए।

क्षतिको अवस्था मूल्याङ्कन गरी आवश्यक उपकरण, सामग्री र जनशक्ति परिचालन गरेर आपूर्ति क्रमशः सामान्य बनाउने काम भइरहेको प्राधिकरणको भनाइ छ।

भारी वर्षा, बाढीपहिरो र सडक अवरुद्ध हुँदा कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भएको छ। पहुँचमार्ग खुलेपछि थप जनशक्ति र उपकरण परिचालन गरी मर्मतकार्य तीव्र बनाउने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले विपद्का कारण केही स्थानमा विद्युत् आपूर्ति प्रभावित भए पनि उपलब्ध वैकल्पिक व्यवस्थासहित नियमित सेवा छिटोभन्दा छिटो सञ्चालन गर्न स्रोतसाधन परिचालन गरिएको जनाएको छ।

यसैबीच, प्राधिकरणले उपभोक्तालाई क्षतिग्रस्त विद्युत् संरचना, ढलेका तार तथा पोलबाट टाढा रहन आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
380SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?