काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) को ११औँ वार्षिक बैठकमा सहभागी हुन शनिबार साँझ कतार प्रस्थान गरेका छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले कतार एयरवेजको नियमित उडानमार्फत साँझ ७ बजे दोहा प्रस्थान गरेका हुन्। अर्थ मन्त्रालयका अनुसार प्रतिनिधिमण्डलमा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख तथा सहसचिव अमृत लम्साल पनि सहभागी छन्।
दोहामा हुने एआईआईबीको वार्षिक बैठकमा अर्थमन्त्री वाग्ले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागी हुने कार्यक्रम छ। उक्त अवसरमा नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा आर्थिक वृद्धिका प्राथमिकताबारे छलफल हुने बताइएको छ।
बैठकका क्रममा नेपालले बहुपक्षीय सहयोग र लगानी परिचालनका विषयमा पनि साझेदारहरूसँग छलफल गर्ने अर्थ मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्षका साथै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
वार्षिक बैठक तथा द्विपक्षीय भेटवार्ता सम्पन्न गरी अर्थमन्त्री वाग्ले नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आगामी असोज १४ गते बुधबार कतार एयरवेजको उडानमार्फत स्वदेश फर्किनेछन्।































