काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक गतिविधिलाई सहज बनाउन समयसापेक्ष नरहेका तथा पुराना कानून खारेज र संशोधन गर्नुपर्ने बताएका छन् । नयाँ कानून थप्दै जाने तर पुराना कानून संशोधन तथा खारेज गर्न ढिलाइ गर्ने प्रवृत्तिले अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ सिर्जना गरेको उनको भनाइ छ ।
मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको दफावार छलफलमा सहभागी हुँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
उनले विभिन्न अध्ययन तथा प्रतिवेदनले खारेज गर्न सिफारिस गरेका १५ वटा ऐन हटाउने प्रस्ताव अघि बढाइएको जानकारी दिए । नयाँ आयोग गठन गरेर थप अध्ययन गर्नुभन्दा यसअघि नै प्राप्त सुझाव कार्यान्वयन गर्ने उद्देश्यले सरकारले विधायिकी सुधारको प्रक्रिया अघि बढाएको उनले स्पष्ट पारे ।
अर्थमन्त्री वाग्लेका अनुसार नियमन आवश्यक भए पनि अत्यधिक कानूनी व्यवस्थाले आर्थिक गतिविधिमा अवरोध सिर्जना गर्न सक्छ । एउटा ऐनले आर्थिक गतिविधि सहज बनाउने र अर्को ऐनले त्यसलाई नियन्त्रण गर्ने अवस्था आएमा नीतिगत विरोधाभास उत्पन्न हुने उनले बताए ।
उनले पुराना ऐन तत्कालीन समय र परिस्थितिअनुसार बनेका भए पनि अहिले आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा तिनको सान्दर्भिकता पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । पुराना तथा असान्दर्भिक कानून खारेज गरेर आवश्यक व्यवस्थालाई आधुनिक ऐनमा समेट्नुपर्ने उनको भनाइ छ ।
अर्थमन्त्री वाग्लेले भने, ‘नेपालमा नयाँ कानून बनाउने तर पुराना कानून संशोधन वा खारेज गर्न ढिलाइ गर्ने प्रवृत्ति छ । यसले अनावश्यक रूपमा कानून थपिँदै जाँदा अर्थतन्त्र अति नियमनको अवस्थामा पुग्ने जोखिम हुन्छ । नियमन आवश्यक छ तर अत्यधिक र परस्पर विरोधी कानूनले आर्थिक गतिविधिलाई बाधा पुर्याउन सक्छ । त्यसैले समयसापेक्ष नरहेका पुराना ऐन खारेज गरी आधुनिक कानूनमा आवश्यक व्यवस्था समावेश गर्नु उपयुक्त हुन्छ ।’
उनका अनुसार प्रतिवेदनले खारेज गर्न सिफारिस गरेका १५ वटा ऐनमध्ये केही अर्थ मन्त्रालय र केही अन्य मन्त्रालयको कार्यक्षेत्रमा पर्छन् । त्यसैले सम्बन्धित मन्त्रालयले आ–आफ्नो जिम्मेवारीअनुसार कानून सुधारको प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ ।
अर्थ मन्त्रालयसँग सम्बन्धित प्रादेशिक विकास योजना कार्यान्वयन ऐन, २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, आय टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट ऐन, २०५२ र वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ लगायतका ऐन खारेज गर्ने प्रस्ताव गरिएको उनले जानकारी दिए ।
त्यसैगरी, ती कानूनमा रहेका आवश्यक व्यवस्थालाई मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०६२ मा समावेश गर्न आवश्यक संशोधनको प्रस्ताव अघि बढाइएको उनले बताए ।
टिकट टाँस्नेसम्बन्धी ऐन र कालोबजारीसम्बन्धी पुराना कानूनी व्यवस्थाको उदाहरण दिँदै अर्थमन्त्री वाग्लेले नयाँ उपभोक्ता संरक्षणसम्बन्धी कानून आइसकेको अवस्थामा पुराना कानूनको औचित्यसमेत पुनरावलोकन गर्नुपर्ने धारणा राखे ।


































