काठमाडौं। जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सबै संघीय अस्पतालहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयले संघीय अस्पतालका प्रमुखहरूलाई आह्वान गर्दै आन्दोलनमा घाइते भई अस्पतालमा भर्ना हुने सबैलाई कुनै पनि प्रकारको शुल्क नलाग्ने गरी उपचार सुनिश्चित गर्न आदेश दिएको हो।
यससँगै मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन समेत निर्देशन दिएको छ। आवश्यक परेका स्थानहरूमा एम्बुलेन्स सहजै उपलब्ध हुने व्यवस्था गर्न आग्रह गरेको छ ।
साथै, अस्पतालबाट रिफर भएका बिरामीलाई अर्को अस्पतालमा लैजाने प्रक्रियामा सहजीकरण गर्न उपत्यकास्थित एम्बुलेन्स सञ्जाललाई सक्रिय पार्न आग्रह गरिएको छ।


































