काठमाडौँ । देशभर निर्माण सामग्रीको मूल्य घट्न थालेसँगै सिमेन्ट र डन्डीको माग घटेपछि उद्योगीहरूले दुवै सामग्रीको मूल्य घटाएका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म र डन्डीको मूल्य प्रतिकिलो ५ रुपैयाँसम्म घटाइएको हो ।
निर्माण कार्यमा बर्खाको समयमा कमी आउँदा माग घट्ने भएकाले मूल्य घटेको उपभोक्ता संरक्षण विभागले जनाएको छ । साथै उद्योगमा लोडसेडिङ कम हुँदा उत्पादन लागत पनि घटेको विभागले जनाएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार, हाल ओपीसी सिमेन्टको भाउ ६ सयदेखि ७ सय रुपैयाँसम्ममा झरेको छ, जुन अघिल्लो मूल्यभन्दा करिब १ सय रुपैयाँ कम हो।
साथै, डन्डीको मूल्य पनि ९६ रुपैयाँबाट घटेर ८२–८५ रुपैयाँ प्रतिकिलो पुगेको छ। यसअघि उद्योगीहरूले लोडसेडिङ र कच्चा पदार्थको मूल्य वृद्धिलाई कारण देखाउँदै ओपीसी सिमेन्टको मूल्य ६७५ देखि ८०० रुपैयाँ, र पीपीसी सिमेन्ट ५५० देखि ६७५ रुपैयाँसम्म पुर्याएका थिए।
बर्खा सकिएसँगै निर्माण कार्य पुनः तीव्र हुने भएकाले आगामी महिनामा फेरि मूल्य बढ्न सक्ने अनुमान रहेको विभागले जनाएको छ । माग कम हुनको साथै खपतमा कमी आएको कारण मूल्यमा समेत गिरावट आएको विभागको भनाई छ ।































