काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज देशभर विशेष कार्यक्रमका साथ मनाइँदैछ । यस अवसरमा बिहानैदेखि विभिन्न निकाय र समुदायले संविधान र राष्ट्रिय एकताको महत्व स्मरण गर्दै औपचारिक तथा अनौपचारिक कार्यक्रम आयोजना गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले विशेष सम्बोधन गर्ने तय भएको छ ।
यद्यपि अहिलेको विशेष राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै यस वर्ष झाँकीलगायत सांस्कृतिक प्रदर्शन स्थगित गरिएको छ। विगतमा भव्य झाँकी प्रदर्शन, सांस्कृतिक झलक र सैनिक ताकतको प्रदर्शनमार्फत संविधान दिवस मनाइँदै आएको भए पनि यसपटक त्यसलाई सीमित गरिएको छ ।
संविधानको ऐतिहासिक पृष्ठभूमि
नेपाली जनताको लामो बलिदान, संघर्ष र आन्दोलनको उपलब्धिस्वरूप नेपालको संविधान २०७२ असोज ३ गते घोषणा गरिएको हो । मुलुकमा भएको दोस्रो संविधानसभा निर्वाचनपछि गठित संविधानसभाले लामो समयसम्मको बहस, संवाद र असहमति समाधान गर्दै अन्ततः ‘नेपालको संविधान २०७२’ जारी गरेको थियो ।
२०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको संविधानसभा बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । यसअघि २०५८ सालको जनआन्दोलनदेखि २०६२/६३ को ऐतिहासिक जनआन्दोलन हुँदै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको आधारशिला कायम गरिँदै आएको थियो । त्यसैको फलस्वरूप नेपालले आधुनिक संविधान प्राप्त गरेको हो ।
संविधान दिवसको महत्व
संविधान दिवसले नेपालको राजनीतिक, सामाजिक र ऐतिहासिक यात्रा स्मरण मात्र गराउँदैन, यसले जनताका अधिकार, स्वतन्त्रता र समानताका मूल्यलाई पनि उजागर गर्छ । नागरिकलाई स्वतन्त्र, समान र लोकतान्त्रिक शासन प्रणालीअन्तर्गत अधिकार सम्पन्न बनाउन संविधानले महत्वपूर्ण भूमिका खेलेको छ ।
यस दिवसले राष्ट्रिय एकता, समावेशी समाज निर्माण र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता दोहोर्याउने अवसर पनि दिन्छ । त्यसैले संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने प्रचलन रहेको छ । यसरी संविधान दिवस २०८२ पनि विगतका वर्षझैँ नेपाली जनताको लामो संघर्ष र बलिदानलाई सम्झँदै, संविधानले सुनिश्चित गरेका अधिकार र कर्तव्यप्रति जनचेतना जगाउँदै र राष्ट्रिय एकतालाई सुदृढ पार्दै मनाइँदैछ ।


































