काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउने भएको छ। यस वर्ष विगतमा जस्तो निश्चित मिति तोकेर औपचारिक रूपमा नयाँ नोट वितरण गर्ने कार्यक्रम भने नरहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोट आवश्यक पर्ने नागरिकले आफूलाई सहज पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट समेत नोट साट्न सक्नेछन्। ग्राहकलाई वितरण गर्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट आवश्यक नयाँ नोट लिइसकेका छन्।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख अनुज दाहालका अनुसार यस वर्ष नयाँ नोटको मौज्दात पर्याप्त रहेकाले स्वेच्छिक रूपमा सटहीका लागि आउने नागरिकलाई एक वा दुई सेटसम्म नयाँ नोट उपलब्ध गराइँदैछ।
राष्ट्र बैंकले वर्षभरि नै नयाँ तथा सुकिला नोट सटहीको सुविधा दिँदै आएको छ। दसैं, तिहार र छठमा नयाँ नोटको माग बढ्ने भएकाले विगतमा भने पर्वलाई लक्षित गर्दै निश्चित समय तोकेर विशेष सटही अभियान सञ्चालन गरिन्थ्यो।
यसपटक भने त्यस्तो औपचारिक अभियान नगरी राष्ट्र बैंकको थापाथली कार्यालय तथा बैंक तथा वित्तीय संस्थाका शाखामार्फत नियमित रूपमा नयाँ नोट सटहीको व्यवस्था गरिएको हो।
राष्ट्र बैंकले नयाँ नोटको सटहीमा सहजता कायम गर्न बैंक तथा वित्तीय संस्थालाई आवश्यक नोट उपलब्ध गराइसकेको जनाएको छ।

































