काठमाडौं । साताको पहिलो कारोबार दिनमै सेयर बजारमा दबाब देखिएको छ । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेसँगै अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
सोमबार नेप्से परिसूचक १६ दशमलव ४७ अंकले घटेर २,६१३ दशमलव ३३ अंकमा सीमित भएको छ ।
कारोबारका क्रममा १ करोड ३१ लाख ७८ हजार कित्ता सेयर किनबेच भएका छन् ।
बजारमा कारोबार भएका कम्पनीमध्ये ५० वटाको सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको मूल्य घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।
सोमबारको बजारमा केही डिबेन्चर तथा अन्य वित्तीय उपकरणको मूल्य भने बढेको छ ।
लक्ष्मी सनराइज डिबेन्चरको मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै, कुमारी बैंक डिबेन्चर १२ दशमलव १७ प्रतिशत, प्रभु बैंक डिबेन्चर ८ दशमलव ८३ प्रतिशत, माण्डु हाइड्रोपावर ५ दशमलव ३८ प्रतिशत र एनआईसी एसिया ब्यालेन्स फन्डको मूल्य २ दशमलव ७३ प्रतिशतले बढेको छ ।
त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३५ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
शिवम् सिमेन्टको २९ करोड ७८ लाख, हाथ्वे इन्भेष्टमेन्टको १९ करोड ९८ लाख, सिद्वार्थ बैंकको १२ करोड ३७ लाख, एसवाई प्यानलको ११ करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
समग्र बजारमा भने बिक्री चाप हाबी हुँदा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको हो ।































