काठमाण्डौ। चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकमा चुनौतीपूर्ण परिस्थितिका बीच पनि कारोबार पुनःस्थापनातर्फ सकारात्मक संकेत देखाएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनी ४ करोड ७० लाख रुपैयाँ घाटामा रहे पनि अघिल्लो त्रैमासमा देखिएको पूर्ण ठप्प अवस्थाबाट बाहिर निस्कँदै आर्थिक गतिविधि पुनः सञ्चालनमा आएको छ।
गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ६ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। चालु आवमा भने भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कम्पनीको भौतिक संरचना तथा केवलकार उपकरणमा क्षति पुग्दा कारोबार लामो समय बन्द हुन पुगेको थियो।
कारोबार बन्द रहँदा आम्दानीमा असर परे पनि कम्पनीले खर्च व्यवस्थापनमा उल्लेख्य सफलता हासिल गरेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४१.०८ प्रतिशतले घटेर २४ करोड ८९ लाख रुपैयाँमा सीमित भए पनि कुल खर्च ११.०७ प्रतिशतले घटाउँदै १२ करोड ४८ लाख रुपैयाँमा झार्न सफल भएको छ। साथै, वित्त खर्च पनि ८ करोड ७३ लाख रुपैयाँबाट घटेर ६ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीका अनुसार, कारोबारको मुख्य सिजनमा भएको बन्दले ठूलो आर्थिक नोक्सानी पुर्याए पनि क्षतिको परिपूर्ति र संरचनागत सुधारका लागि कम्पनी प्रतिबद्ध रहेको छ। वित्तीय संरचनातर्फ सकारात्मक पक्ष के छ भने, अघिल्लो आवमा ४१ लाख ९५ हजार रुपैयाँले ऋणात्मक रहेको रिजर्भ चालु आवमा ४ करोड ६२ लाख रुपैयाँले धनात्मक बनेको छ।
समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति ४९ करोड १४ लाख रुपैयाँ र कुल चालु दायित्व १३ करोड ६१ लाख रुपैयाँ रहेको छ। यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ऋणात्मक ३.०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०३.०२ रुपैयाँ, पीई रेसियो ऋणात्मक २७७.६८ गुणा र तरलता अनुपात ३.६१ प्रतिशत कायम रहेको छ।






































