काठमाडौँ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले तनहुँ र गोरखा जिल्लाका आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि श्रावण ६ गते (भोली) देखि आईपीओ निष्कासन गर्ने भएको छ।
यस अन्तर्गत आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख २९ हजार ४०० कित्ता शेयर निष्कासन गरिने छ। स्थानीयका लागि यो आवेदन श्रावण २० गतेसम्म खुला रहनेछ भने आवश्यकता परे भदौ ४ गतेसम्म विस्तार हुन सक्छ।
विदेशमा रहेका नेपालीका लागि भने श्रावण ९ गतेसम्म खुला हुनेछ र आवश्यकता अनुसार भदौ २० सम्म विस्तार हुन सक्छ।
त्यसमा २ प्रतिशत अर्थात् ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित स्थानीयवासीको लागि छुट्टाइएको छ भने बाँकी १८.७०६७ प्रतिशत अर्थात् ५२ लाख ९४ हजार कित्ता शेयर पछि सर्वसाधारणका लागि खुला गरिनेछ। उक्त सर्वसाधारण निष्कासनको १० प्रतिशत हिस्सा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्टाइएको हो।

































