काठमाडौँ । सहकारी प्रकरण मुछिएका दीपेशकुमार पुन धरौटीमा रकम जम्मा गरेर आज रिहा भएका छन् ।
सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले पुनलाई वैशाख ७ गते शुक्रवार रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतले पुन सहित ६ जनालाई रिहा गर्न आदेश दिएकोमा पाँच जना सोही दिन छुटेका थिए । भने पुन एक हप्तापछि मात्रै रिहा भएका हुन्।
न्यायाधीश डा.श्रीप्रकाश उप्रेतीको इजलासले पुनसँग ४ लाख धरौटी माग गरेको थियो। उक्त रकम आज बुझाएर पुन छुटेको जिल्ला अदालत रुपन्देहीले जनाएको छ । अदालतले गत शुक्रवार अध्यक्ष ओमप्रकाश गुरुङबाहेक अन्यलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
सुप्रिम सहकारी प्रकरणमा अदालतले गत शुक्रवार नै नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईँ पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटी रकममा छाड्न आदेश दिएको थियो । पुन पूर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा हुन् ।
सरकारी वकिल कार्यालयले राईसहित २८ जनालाई ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको दाबी गर्दै सोही रकम बराबरको बिगो कायम गरेर अदालतमा मुद्दा दायर गरेको थियो ।
































