काठमाडौं। पर्यटन बोर्डका अनुसार ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन्।
पर्यटन बोर्डका अनुसार सन् २०२५ को पहिलो ६ महिना (जनवरी–जुन) मा ५ लाख ७७ हजार ६ सय ८९ पर्यटक नेपाल आएका हुन्। नेपालमा मासिक सरदरमा ९६ हजार २ सय ८१ जना पर्यटकले भ्रमण गर्ने गरेका छन् ।
गत वर्ष (सन् २०२४) को पहिलो ६ महिनामा पाँच लाख ८३ हजार ११ पर्यटक नेपाल आएका थिए। सन् २०२५ को जुन महिनामा ७६ हजार ४२५ पर्यटक नेपाल आएका छन्। गत वर्षको यसै महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल आएका थिए।
जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो संख्या भारतबाट आएको छ। भारतबाट ३२ हजार ६६२ पर्यटक नेपाल आएका छन् । दोस्रो अमेरिकाबाट ९ हजार ६९६ पर्यटक नेपाल भित्रिएका छन्।
तेस्रोमा चीनबाट ६ हजार ७३६, चौथोमा बंगलादेशबाट पाँच हजार ४४९ र पाँचौँ स्थानमा बेलायतबाट दुई हजार २८४ पर्यटक नेपाल भित्रिएका छन्। यस्तै, अस्ट्रेलियाबाट १ हजार ८ सय ३१, मलेसियाबाट १ हजार ३ सय ४८, भुटानबाट १ हजार १ सय ६७, जापानबाट १ हजार १९ र फ्रान्सबाट १ हजार २ पर्यटक आएका छन्।
बोर्डका अनुसार जनवरीमा ७९ हजार ९ सय ९१ जना पर्यटक आएका थिए । यस्तै फेब्रुअरीमा ९६ हजार ८ सय ८० जना, मार्चमा १ लाख २१ हजार ६ सय ८७ जना, अप्रिलमा १ लाख १६ हजार ४ सय ९० जना, मेमा ८६ हजार २ सय १६ जना, जुनमा ७६ हजार ४ सय २४ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्।


































