काठमाडौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय धनगढीले कैलाली जिल्लामा हालसम्म १२ हजार ५२७ क्विन्टल धान खरिद गरेको छ।
कम्पनीले यही कात्तिक १२ गतेदेखि जिल्लाका विभिन्न केन्द्रमार्फत धान खरिद सुरु गरेको हो। हालसम्म टीकापुर खरिद केन्द्रबाट तीन हजार ८७९ क्विन्टल, मोहनपुरबाट दुई हजार ३३९ क्विन्टल, सत्तीबाट दुई हजार क्विन्टल, गौरीगङ्गाबाट एक हजार ७२४ क्विन्टल, भजनीबाट एक हजार ३०० क्विन्टल र जोशीपुरबाट एक हजार २८५ क्विन्टल धान खरिद गरिएको कार्यालयले जनाएको छ ।
सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिएको छ।
एक किसानबाट बढीमा ५० क्विन्टलसम्म धान खरिद गरिने र बिक्रीका लागि किसानले परिचयपत्र, वडाको सिफारिस र चेकको प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था गरिएको हो । गत वर्ष कैलाली जिल्लामा कम्पनीले ५५ हजार क्विन्टल कोटा निर्धारण गरेकोमा ३४ हजार ५०१ क्विन्टल मात्रै खरिद भएको थियो।


































