काठमाडौं । सरोकारवालाहरूले अटोमोवाइल क्षेत्रका लागि स्थिर कर्जा नीति आवश्यक रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक तथा नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका पूर्व अध्यक्ष कृष्ण दुलालले स्थिर कर्जा नीति आवश्यक रहेको बताए ।
कार्यक्रममा कसले के भने ?
गुरु प्रसाद पौडेल
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा कर्जा प्रवाह भएको बताए । बैंक तथा वित्तिय संस्थाले मात्रै नभई हायर पर्चेज कम्पनीहरूले पनि यस क्षेत्रमा लगानी गर्ने गरेको उनको भनाइ छ ।
‘हामीले यो क्षेत्रलाई अनुत्पादक भनेका छैनौ । हायर पर्चेज कम्पनीलाई लाइसेन्स दिनुले पनि एटोमोवाईल्स क्षेत्रलाई प्राथमिकतामा राखेको पुष्टी गर्छ,’ उनले भने ।
उनले २०७० यता हायर पर्चेज कम्पनी मार्फत अटो क्षेत्रमा कर्जा प्रवाह गरिरहेको उल्लेख गरे । १० वटा हायर प्रचेज कम्पनीले २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको उनको भनाइ रहेको छ ।
‘अटो क्षेत्र अनुत्पादक क्षेत्र होइन । सरकारले अनुत्पादक क्षेत्र मानेको भए विशिष्टिकृत कम्पनी स्थापना गर्दैनथ्यो । कुनैपनि व्यक्तिले गाडी खरिद गर्दा ४० प्रतिशत नगद बुझाउँछ र ६० प्रतिशत ऋण पाउँछन् । विदेशमा समेत ६० देखी ८० प्रतिशतसम्म लोन टु पर्चेज (एलटिपी) रेसियो लगाएका छन्,’ उनले भने, ‘नेपालमा व्यक्तिगत र व्यवसायीक गाडीमा फरक एलटिपी लगाउन सकिन्छ । व्यक्तिगत गाडी खरिद गर्न जाँदा ब्याजदर कम छ । तर, सार्वजनिक यातायातमा बढी जोखिम रहेको हुन्छ । त्यसैले बैंकहरुले निजी गाडीको तुलनामा सार्वजनिक यातायातमा बढी व्याज लगाउँछन् ।’
नेपालमा ०४१/०४२ अघि अर्थात् निजी बैंक स्थापना नहुँदासम्म अटो कर्जा प्रवाह हुने अवस्था नरहेको उनले स्मरण गरे ।
नेपालमा उत्पादन गर्ने उद्योगहरुलाई बैंकहरुले सहजरुपमा कर्जा दिने गरेको उनले बताए । उत्पादनमुलक उद्योगले २ करोड रूपैेयाँसम्म कर्जा लिदाँ आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम थपेर व्याजदर लिने गरेको उनको भनाइ छ ।
गोविन्द गुरुङ
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरूङले कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता राखेपनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको बताए । अन्तरक्रियामा सिइओ गुरुङले बैंकको ऋण विविधिकरण गरिरहेको बताए । अटोमोवाईल्स क्षेत्रमा पनि कर्जा प्रवाह गर्दै आएको बताउँदै उनले गत वर्षको नाडा अटो शोमा स्टल समेत राखेको बताए ।
उनले अटोमोवाईल्स क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या पनि कम भएको बताए । ‘अन्य क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या छ । त्यसमा खराव कर्जा पनि बढ्ने गरेको छ । तर, अटोमोबाइल्स क्षेत्रमा खराब कर्जा कम रहेको छ,’ उनले भने ।
‘व्यवसायीक गाडीमा लगानीगर्दा बढी चुनौती छन् । निजी गाडीमा कर्जा दिदाँ व्यक्तिको सम्पत्ति पनि धितो राख्ने गरेको छौं,’ उनले भने ।
उनले ‘लोन टु भ्यालू रेसियो’ देशअनुसार फरक फरक हुने गरेको बताए । व्यावसायीक र निजी गाडीमा पनि ‘लोन टु भ्यालू रेसियो’ फरक फरक हुने उनको भनाइ छ ।
बाबुराम शर्मा
भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराम शर्माले हायर पर्चेज कम्पनीहरुबाट अटोमोवाइलमा क्षेत्रमा २६ अर्ब ५० करोड रूपैयाँ लगानी भएको बताए ।
कृष्ण दुलाल
नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक कृष्ण दुलालले अटो क्षेत्रको भविष्य उज्जवल रहेको बताए । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका पूर्व अध्यक्ष समेत रहेका दुलालले यस क्षेत्रमा लगानी गरेपछि चिन्ता लिनुनपर्ने बताए ।
अटो क्षेत्रमा लगानी गर्ने व्यक्तिले पछाडी फर्किनु नपर्ने उनको दावी छ । अटोमोबाइल क्षेत्र सुरक्षित र स्वस्थ व्यवसाय भएको उनले बताए । यस्तै, कुनै पनि कर्मचारीहरूलाई गाडी किन्नको लागि लामो अवधीका लागि कर्जा प्रवाह गर्नुपर्ने उनको माग छ ।
उनले भने, ‘कर्मचारीहरूलाई बाइक तथा गाडी किन्न २० वर्षको लागि ऋण दिनुपर्ने व्यवस्था गर्नुपर्छ । त्यस्तो व्यवस्था गर्न सकेमा अधिकांशले गाडी किन्न सक्छन् । यसमा सरकारको ध्यान जान आवश्यक छ । यो व्यवस्था गर्न सकियो भने धेरै राम्रो हुन्छ ।’



































