काठमाडौं । कुनै समय थियो जब सवारी दुर्घटना हुनुपछाडिको कारण बसहरूको तीव्र गति भएको भन्ने समाचार आउँथ्यो । मालवाहक ट्रक वा अन्य सवारीसाधन पनि दुर्घटनामा पर्थे । तर समाचारमा प्रमुख स्थान यात्रुवाहक बसले मात्रै पाउँथे । दुर्घटनाको प्रमुख कारण नै यात्रुवाहक बसहरू हुन् भन्ने भाष्य बनाइन्थ्यो ।
त्यो किन पनि हुन्थ्यो भने यात्रुवाहक बस वा सार्वजनिक सवारीले यात्रुको जिम्मेवारी पनि बोकेको हुन्थ्यो । मालवाहक ट्रकहरूमा चालक र सहचालक मात्रै हुने भएकाले समाचारको हेडलाइन बसको दुर्घटनामा बढी केन्द्रीत हुन्थे । हुन पनि हो । बसमा एकै पटक दजनौँ यात्रु सवार हुन्छन् जसले समाचारको गुण वा महत्त्वलाई पनि बढाउन पुग्छ ।
समाचार के हो भन्ने सन्दर्भमा घटनाले कति ठूलो क्षेत्र वा आकारमा प्रभाव पारेको छ भन्ने कुरालाई पनि मध्यनजर गरिन्छ । त्यो हिसाबले ट्रक दुर्घटनामा चालकको मृत्यु भएको घटनाभन्दा बसमा सवार दर्जनौँको हताहतीले बढी महत्त्व राख्ने गर्छ । मानवीय क्षति वा घाइतेका कुराले समाचारमा प्राथमिकता पाउँछन् । जसकारण यात्रुवाहक सवारीसाधनको दुर्घटनालाई अन्य सवारी दुर्घटनाभन्दा बढी चासो र चिन्ताका साथ हेर्ने गरिन्छ ।
हाल भएका दुर्घटनाहरूमा पनि यात्रुवाहक सवारीसाधनकै विषय बाहिर आउने गरेको छ । यद्यपि पछिल्लो समय दुर्घटनामा परेका सवारीसाधनमध्ये पनि ईभी अर्थात् विद्युतीय सवारीको चर्चा र विषय बढी हुने गरेको छ ।
दुर्घटना हुँदा यात्रुवाहक सवारीसाधन दुर्घटना भन्दा पनि ईभी दुर्घटना वा ईभीका कारण दुर्घटना भन्दै सामाजिक सञ्जालमा पोस्ट र स्पन्सरमा बुस्टिङ समेत हुने गरेको छ । तर के साँच्चै नेपालमा भएका अधिकांश दुर्घटनाहरू ईभी अर्थात् इलेक्ट्रिक भेइकल कै छन् त रु अनि के ईभी कै कारण दुर्घटना भएका हुन् कि मानवीय गल्तीका कारण दुर्घटना भएका हुन् ? पहिले केही ईभी दुर्घटनाको चिरफार गरौँ ।
https://aarthikvoice.com/archives/61892
दुर्घटना १ : चितवन दुर्घटना, ७ जनाको मृत्यु
गत असारको ७ गते चितवनको रत्ननगर नगरपालिका ४ डडुवा भन्ने स्थानमा ईभी भ्यान र यात्रुवाहक बस एकापसमा ठोक्किँदा ईभीमा सवार ७ जनाले ज्यान गुमाए ।
असार ७ गते शनिवार बिहान सवा १० बजे हेटौंडाबाट नारायणगढ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ज २९९ नम्बरको ईभी भ्यान र धनगढीबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १ ०१ ००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस आपसमा ठक्कर खाँदा यस्तो गम्भीर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुने सबै ईभी भ्यानमा सवार यात्रुहरू थिए भने ईभी भ्यान चालकको त घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त दुर्घटनाका प्रत्यक्षदर्शीका अनुसार ईभी भ्यान र यात्रुवाहक बस दुर्घटना हुँदा दुवै सवारीसाधनको गति अत्यधिक रहेको थियो । हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ईभी भ्यान र धनगढीबाट काँकरभिट्टातर्फ गइरहेको बस दुवै करिब ८० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेका थिए ।
दुर्घटनालाई आफ्नै आँखा अगाडि देखेका प्रत्यक्षदर्शी कुमार थपलियाका अनुसार ईभी माइक्रोले तीन वटा ट्रकलाई एकै पटक ओभरटेक गर्न खोज्दा दुर्घटना भएको थियो भने धनगढीबाट काँकरभिट्टा जान लागेको बसले पनि अगाडि रहेको बसलाई ओभरटेक गर्दा दुर्घटना भएको हो । यद्यपि दुर्घटनाको क्षति भने सानो गाडी भएकाले ईभी भ्यानले मात्रै बेहोर्नुपर्यो ।
नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उक्त क्षेत्रमा अधिकतम ५० किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन चलाउन पाइन्छ । तर त्यहाँ औसतमा नै ६० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी कुद्छन् भने दुर्घटना हुँदा करिब ८० किलोमिटर प्रतिघण्टाको रफ्तार थियो ।
https://www.youtube.com/watch?v=mZWKx3-vfZ4
तीव्र गति नै दुर्घटनाको मुख्य कारण : प्रत्यक्षदर्शी थपलिया
जुन स्थानमा दुर्घटना भएको थियो, सोही स्थानमा रहेको अर्को बसमा यात्रा गर्दै थिए कुमार थपलिया । पेशाले थपलिया पनि सवारी चालक नै हुन् र उनी नारायणगढ क्षेत्रमा म्याजिक भ्यान चलाउँछन् । उक्त दिन उनी काम विशेषले नारायणगढबाट हेटौंडा जाँदै थिए र उनी बसको अगाडितिर बसेका थिए ।
उनी चढेको बस अगाडि बढ्दै गर्दा हेटौंडाबाट नारायणगढतर्फ आइरहेको ईभी भ्यान आफूभन्दा अगाडि रहेका तीन वटा ट्रकलाई एकै पटक ओभरटेक गर्न तीव्र गतिमा आइरहेको थियो । दुई वटा ट्रकलाई ओभरटेक गरी तेस्रो ट्रकको नजिक पुग्न लागेपछि थपलिया चढेको बसले ब्रेक लगाएर ईभी भ्यानलाई अगाडि जान दिन खोज्यो । थपलिया चढेको बस करिब ४० किलोमिटर प्रतिघण्टा जतिको रफ्तारमा हुँदा उनी भन्दा पछाडि रहेको मितेरी यातायातको बसले थपलिया चढेको बसलाई ओभरटेक ग¥यो । धनगढीबाट काँकरभिट्टातर्फ जाँदै गरेको उक्त बसको गति करिब ८० किलोमिटर प्रतिघण्टाको रफ्तारमा रहेको थपलियाले बताए ।
अगाडि रहेको बसलाई ओभरटेक गरेर मितेरी यातायातको बस आफ्नो लेनमा आइसकेको थियो । तर तीन वटा ट्रकलाई ओभरटेक गर्न खोजेको ईभी भ्यानले दुई वटा ट्रकलाई ओभरटेक गरेको भए पनि एउटा ट्रकलाई ओभरटेक गरिसकेको थिएन । अनि अगाडि रहेको ट्रकले पनि ईभी भ्यानलाई साइड दिइरहेको थिएन ।
दुवै सवारीको गति अत्यधिक धेरै रहेको तथा सवारी चालकले अर्को सवारी देखेका थिएनन् । जसका कारण दुवैले एक्कासि ओभरटेक गर्दा यो गम्भीर दुर्घटना हुन पुग्यो । यसरी तीव्र गति र चालकका लापरबाहीका कारण ईभीमा सवार ७ जनाले ज्यान गुमाए ।
दुर्घटना २ : चितवनकै सत्र किलोमा दुर्घटना ५ जनाको मृत्यु
गत असारको ७ गते मात्रै होइन २०८१ कात्तिक २३ गते पनि चितवनमै अर्को भयानक दुर्घटना भयो जहाँ ईभी माइक्रोमा रहेका ५ जनाले ज्यान गुमाए । काँकरभिट्टाबाट नारायणगढ हुँदा काठमाडौं आउँदै गरेको यात्रुवाहक बसमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ईभी भ्यान ठोक्किँदा ५ जनाले ज्यान गुमाए । बिहान ३ बजेको समयमा काठमाडौंतर्फ आउँदै गरेको बसमा चितवनको भरतपुर महानगरपालिका वडा नबर २९ सत्र किलो भन्ने स्थानमा पुग्दा विपरीत दिशामा पुगेर गुडिरहेको बसमा ईभी भ्यान ठोक्किएको थियो । नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६ ००१ ज ०२९८ नम्बरको ईभी माइक्रो ठोक्किएको थियो ।
यस दुर्घटनामा बस आफ्नै लेनमा थियो भने गति पनि औसत रहेको पाइएको थियो । ईभी माइक्रो भ्यान भने विपरीत लेनमा पुगेको र अत्यधिक गतिमा रहेको पाइएको थियो । रातको समय भएकाले चालक निदाएका थिए कि भन्ने अनुमान समेत गरिएको छ । यद्यपि ईभी चालककै लापरबाही नै प्रमुख कारण देखिएको चितवन ट्राफिकले जनाएको थियो ।
दुर्घटना ३ : पोखराको लामेआहालमा ईभी दुर्घटना, ३ जनाको मृत्यु
२०८२ वैशाखको ३१ गते पोखराको लामेआहालमा ईभी माइक्रो बस दुर्घटना भयो । त्यहाँ ३ जनाले ज्यान गुमाए भने ८ जना घाइते भए । धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको ईभी माइक्रो पोखरा महानगरपालिका वडा नम्बर ३२ लामेआहालमा पुग्दा दुर्घटनामा परेको थियो ।
हावाहुरी आइरहेको समयमा अत्यधिक गतिमा रहेको ईभी माइक्रोले सन्तुलन गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको थियो । उक्त घटनामा ३ जनाले ज्यान गुमाए । हावाहुरी आइरहेको समयमा गाडीले गति बढाएको र मोडनेर पुग्दा मोड्न नभ्याई सडकबाट तल खसेको पाइएको छ । यस दुर्घटनामा पनि चालकको लापरबाही र तीव्र गति नै दुर्घटनाको कारण रहेको पाइएको छ ।
दुर्घटना ४ : मकवानपुरको धरमपानीमा दुर्घटना, २ जनाको मृत्यु
ईभी माइक्रो भ्यान दुर्घटना र मानवीय क्षति यहीँ रोकिँदैन । २०८२ वैशाख ५ गते मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका २, धरमपानीमा काठमाडौंबाट रौतहट जाँदै गरेको ईभी माइक्रो दुर्घटनामा प¥यो । बागमती प्रदेश ०१ ००६ ख ७०७२ नम्बरको ईभी माइक्रो दुर्घटनामा परेको थियो ।
जुन स्थानमा ईभी गाडी दुर्घटनामा प¥यो, उक्त स्थानमा मोड रहेको थियो । चालकले मोडमा नियन्त्रण कायम राख्न नसक्दा गाडी दुर्घटनामा परेको प्रहरीको निष्कर्ष थियो ।
गाडीमा रहेका घाइतेको बयान अनुसार ईभीको गति अत्यधिक थियो र मोडमा आइपुग्दा मोड काट्न नभ्याएको कारण गाडी सडकबाट करिब २ सय मिटर तल खसेको थियो । जसकारण दुर्घटनामा २ जनाले ज्यान गुमाएका थिए भने १४ जना घाइते भएका थिए । यस दुर्घटनामा पनि तीव्र गति नै कारक रहेको पाइएको छ ।
दुर्घटना ५ : कलंकीको ईडिफाई इन्टरनेशनल स्कुलमा दुर्घटना, एक विद्यार्थीको मृत्यु
गत असारको २ गते मात्रै कलंकीको ईडिफाई इन्टरनेशनल स्कुलमा विद्यालयकै भ्यान दुर्घटना भयो जहाँ ९ वर्षकी सोनाक्षी यादवको मृत्यु भयो । अन टेस्टमा रहेको विद्यालयकै भ्यानले नियन्त्रण गुमाउँदै विद्यालय परिसरमै दुर्घटना भयो र विद्यार्थीको मृत्यु भयो भने शिक्षक र अन्य विद्यार्थीहरू घाइते भए ।
यस दुर्घटनामा चालकले ईभी भ्यानको सञ्चालन विधि नजानेको र इन्धनबाट चल्ने साधन जस्तै सोचेर सञ्चालन गर्न खोज्दा दुर्घटना भएको पाइएको थियो ।
त्यसबाहेक असार २० गते मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका २ रातमाटेमा पनि ईभी भ्यान दुर्घटना भयो । रातमाटेमा रहेको मोडमा तीव्र गतिमा रहेको ईभीले एक्कासि ब्रेक हान्दा गाडी चिप्लिएर सडकबाट तल झर्न पुग्यो । गत सालको फागुन १९ मा गोरखामा समेत अन टेस्ट ईभी भ्यान दुर्घटना हुँदा एक जनाले ज्यान गुमाए ।
यी प्रतिनिधि दुर्घटना हेर्दा सबै दुर्घटनामा ईभी सवारी चालकको लापरबाही र तीव्र गति नै कारण देखिएको छ । यसमा चालकले इन्धनबाट चल्ने सवारीसाधनकै रूपमा ईभी सवारीसाधन चलाउन खोजे पनि केही विधि र प्रक्रिया फरक हुने भएकाले दुर्घटना भएको तथा छिटै पिकअप लिने भएकाले गति बढ्दा दुर्घटना भएको पाइएको छ । चालकले आफू बच्नलाई ब्रेक फेल भएको लगायतका बहाना बनाएको भए पनि प्राविधिक परीक्षणमा ब्रेक फेल भएको वा प्राविधिक समस्या आएको पाइएको छैन ।
गल्ती चालकको दोष जति ईभीलाई ?
ट्राफिक विज्ञ आशिष गजुरेल पछिल्लो समय भएका ईभी दुर्घटनाका कारणमा तीव्र गति, चालकका लापरबाही र ईभीको अपरेटिङ सिस्टमबारे चालक पूर्णतया जानकार नहुने रहेको बताउँछन् । चितवनमा भएका दुई वटै दुर्घटना, मकवानपुरको दुर्घटना आदि सबैमा चालकको लापरबाही नै कारक रहेको गजुरेलको भनाइ छ ।
गजुरेलका अनुसार ईभी गाडी वा डिजेल गाडीको उत्पादन वा क्षमता मै समस्या भएको नभई त्यसको प्रयोगमा भने जानकारी नपुगेको कारण दुर्घटना भइरहेको पाइएको छ ।
गजुरेल भन्छन्, ‘ईभी गाडीको इफिसियन्सीको बारेमा त कुनै शंका छैन, त्यसमा कुनै कम्प्रोमाइज पनि छैन । तर समस्या कहाँ हो भने यसको प्रयोगका सन्दर्भमा चालकलाई पर्याप्त जानकारी छैन, दुर्घटनाको कारण त्यही नै देखिएको छ ।’
गजुरेलका अनुसार ईभी गाडीमा गियर नहुने भएकाले तत्कालै गाडीको स्पिड बढ्ने र ब्रेक लगाउँदा बिस्तारै लाग्ने भएकाले गति बढी हुँदा कन्ट्रोलमा समस्या देखिएको छ ।
https://www.youtube.com/watch?v=92RJJJxCae8&t=6s
गजुरेल भन्छन्, ‘डिजेल गाडीमा स्पिड कन्ट्रोल गर्न ब्रेक र गियर दुवै हुन्छ, तर ईभी गाडीमा गियर नहुँदा ब्रेकमा मात्रै भर पर्नुपर्छ । त्यसै गरी स्पिड बढाउँदा पनि गियर भएको गाडीले बिस्तारै पिकअप लिन्छ भने ईभी गाडीले तत्कालै पिकअप लिन्छ । त्यस्तो हुँदा पहिले डिजेल वा पेट्रोलको सवारी चलाएर पछि ईभी चलाएका चालकहरू झुक्किने पनि गर्छन् र ढिलो हुन्छ वा छिटो हुन्छ भन्दा भनेको जस्तो नभएर दुर्घटना भएका छन् । तर ईभी गाडीका अधिकांश दुर्घटनाका कारणमा तीव्र गति नै देखिएको छ ।’
पछिल्लो समय भएका अधिकांश ईभी सवारी दुर्घटनामा ईभीका चालकको नै गल्ती र लापरबाही प्रमुख कारण देखिएको छ । केही दुर्घटनामा अन्य सवारीलाई बचाउँदा वा अन्यको गल्तीले समेत दुर्घटना भएको भए पनि ९५ प्रतिशत दुर्घटनामा ईभी सवारीका चालकको गल्ती र लापरबाही नै प्रमुख कारण रहेको पाइएको छ ।
https://www.youtube.com/watch?v=P7U4DorPI9Q
तर सामाजिक सञ्जालमा भने ईभी गाडीका कारण दुर्घटना बढेको भन्दै दुष्प्रचार मात्रै गरिएको छैन, इन्धनबाट चल्ने माइक्रो दुर्घटना हुँदा समेत ईभी दुर्घटना भन्दै प्रचार गरिएको छ । कतिपय दुर्घटनाको तस्बिर वा भिडियोलाई त स्पन्सर गर्दै बुस्टसमेत गरिएको पाइएको छ, जहाँ इन्धनबाट चल्ने सवारीसाधन आयातकर्ताको निहित स्वार्थ रहेको देखिन्छ ।



































