काठमाडौं । नेपालमा फोटोन मोटर्सको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि कमर्सियल भेइकलले जेभियर इन्टरनेशनल स्कूललाई १३ वटा नयाँ फोटोन माउन्टेन ईलेक्ट्रिक स्कूल भ्यानहरू हस्तान्तरण गरेको छ ।
ती स्कुल भ्यान बिहीबार एक औपचारिक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो । यसले वातावरणमैत्री यातायाततर्फ स्कूलको महत्त्वपूर्ण कदमलाई दर्शाउने एमएडब्लु वृद्धिले जनाएको छ ।
उक्त कार्यक्रममा एमएडब्लु वृद्धिका सीईओ तुषार गुप्ता र सेल्स हेड नवीन आचार्यले ती स्कुल भ्यान हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै कम्पनीका सीईओ तुषार गुप्ताले विद्यालयलाई नयाँ सोच कार्यान्वयन गरेकोमा धन्यवाद दिए । उनले भने, “हामी जेभियर इन्टरनेशनल स्कूलसँगको यस सहकार्यमा गर्व गर्छौं । यी इभी स्कूल भ्यानहरूले आधुनिक यातायातका आवश्यकताहरू पूर्ति गर्नुका साथै वातावरणको पनि ख्याल गर्छन्।”
यस्तै सेल्ड हेड नवीन आचार्यले फोटोन माउन्टेन इभीको प्रयोगले सुरक्षा र दिगोपनमा मात्र नभएर अभिभावक र सम्पूर्ण समुदायलाई नै फाइदा पुर्याउने आशा व्यक्त गरे ।
जेभियर इन्टरनेशनल स्कूलका प्रतिनिधिहरूले पनि यो नयाँ चरणप्रति उत्साह व्यक्त गरे । उनीहरूले वातावरणको रक्षा गर्दै उत्कृष्ट शिक्षा दिने आफ्नो चाहना रहेको उल्लेख गरे । त्यसका लागि नै इभीमा लगानी गर्ने महत्त्वपूर्ण निर्णय गरिएको बताए ।
विद्यालयका विद्यार्थीहरूको सुरक्षित र भरपर्दो यातायातका लागि उपयुक्त फोटोन माउन्टेन उपयुक्त हुने कम्पनीको दाबी छ । यस गाडीमा ५३.५८ किलोवाटको सीएटीएल ब्याट्री र १३० किलोवाट आवर क्षमताको मोटर जडान गरिएको छ । त्यसले ३३० एनएमसम्मको टर्क दिन्छ ।
भ्यानको भित्री भाग चौडा रहेको र त्यसको सञ्चालन खर्च पनि कम पर्न आउने कम्पनीले दाबी गरेको छ । वातावरणमैत्री प्रविधिले जेभियर ईन्टरनेसनल स्कुलका लागि दीर्घकालीन र स्मार्ट समाधान बनाएको पनि उसले जिकिर गरेको छ।

































