काठमाडौं । नेपाल जस्तो भौगोलिक विषमता भएको देशमा सडक दुर्घटना कुनै नौलो विषय होइन । यहाँ औसतमा दैनिक २ हजार ४ सय वटा दुर्घटना हुँदा ३ हजार ५ सय सवारीसाधनहरूमा क्षति पुग्ने गरेको छ । दुर्घटनाबाट यस आर्थिक वर्षका जेठ मसान्तसम्म २ हजार २८९ जनाको मृत्यु भइसकेको छ । यो आँकडालाई हेर्ने हो भने देशभर हरेक दिन करिब ७ जनाले सडकमा हुने दुर्घटनाका कारण ज्यान गुमाइरहेका छन् ।
नेपाल प्रहरीको तथ्यांक अनुसार यस आर्थिक वर्षको जेठ मसान्तसम्म कुल २५ हजार ७७१ स्थानमा सवारी दुर्घटना हुँदा ३८ हजार ७७४ वटा सवारीसाधनको संलग्नता पाइएको छ । जेठ मसान्तसम्मको दुर्घटनामा सबैभन्दा बढी २२ हजार ६४० वटा दुर्घटना मोटरसाइकलबाट भएका छन् । सबै दुर्घटनामा २ हजार २८९ जनाको मृत्यु हुँदा ६ हजार ३८१ जना गम्भीर घाइते भएका छन् भने ३३ हजार ७५६ जना सामान्य घाइते भएका छन् ।
वागमती प्रदेशमा बढी दुर्घटना, दोस्रो स्थानमा मधेश प्रदेश
प्रदेशगत तथ्यांक हेर्ने हो भने वागमती प्रदेशमा सबैभन्दा बढी दुर्घटना हुने गरेको छ । वागमती प्रदेशको काठमाडौं उपत्यकामा मात्रै चालु आर्थिक वर्षमा ६ हजार ४१२ वटा सवारी दुर्घटनामा घटना भएका । उपत्यका बाहेकका अन्य जिल्लाहरूमा २ हजार २३८ वटा सवारी दुर्घटना गरी वागमती प्रदेशमा कुल ८ हजार ६५० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ४३० जनाले ज्यान गुमाइसकेका छन् ।
वागमतीपछि मधेश प्रदेशमा ६ हजार ७१० वटा सवारी दुर्घटना भएका छन् । चालु आर्थिक वर्षको जेट महिनासम्म त्यहाँ ५०२ जनाले दुर्घटनाका कारण मृत्युवरण गर्न बाध्य भएका छन् ।
बढी दुर्घटना मोटरसाइकलबाट, माइक्रो बसको दुर्घटना न्यून
नेपाल प्रहरीद्वारा उपलब्ध तथ्यांक अनुसार चालु आर्थिक वर्षमा भएका कुल सवारी दुर्घटनाको ५८ प्रतिशतभन्दा बढी दुर्घटना मोटरसाइकलसँग सम्बन्धित छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल ३८ हजार ७७४ वटा सवारीसाधन दुर्घटनामा पर्दा २२ हजार ६४० वटा सवारीसाधन मोटरसाइकल वा स्कुटर रहेका छन्, जुन कुल दुर्घटनामा परेका सवारीसाधनको ५८ दशमलव ३८ प्रतिशत हो ।
मोटरसाइकलपछि बढी दुर्घटनामा पर्ने सवारीसाधनमा कार र जिप रहेका छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३८ हजार ७७४ वटा सवारीसाधन दुर्घटनामा पर्दा ५ हजार ९०७ थान सवारीसाधन कार वा जिप रहेका छन् । यो जुन कुल सवारीसाधन दुर्घटनाको १५ दशमलव २३ प्रतिशत रहेको छ ।
ट्याम्पोको दुर्घटना पनि बढी
चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांक हेर्दा दुर्घटनामा पर्ने सवारीसाधनको तेस्रो सूचीमा सार्वजनिक सवारीसाधनको रूपमा रहेको ट्याम्पो रहेको छ । चालु आवको ११ महिनामा भएका कुल दुर्घटनामध्ये २ हजार २२६ वटा सवारीसाधन ट्याम्पो रहेका छन् जुन कुल दुर्घटनाको ५ दशमलव ७४ प्रतिशत हो ।
शारीरिक शक्तिले चल्ने सवारी दुर्घटना चौथो नम्बरमा
सवारीसाधन दुर्घटनाको तथ्यांक केलाउँदा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा भएका कुल दुर्घटनामध्ये शारीरिक शक्तिले चल्ने साइकल, रिक्सा, ठेला जस्ता सवारीसाधन दुर्घटना चौथो नम्बरमा रहेको पाइएको छ । कुल दुर्घटनामध्ये २ हजार १३० वटा सवारीसाधन शारीरिक शक्तिबाट चल्ने अर्थात् साइकल, रिक्सा, ठेला आदि रहेका छन् । यो कुल दुर्घटनाको ५ दशमलव ४९ प्रतिशत हो ।
https://aarthikvoice.com/archives/68110
बस पाँचौँ नम्बरमा, अन्य सवारी कुन स्थानमा ?
यस आर्थिक वर्षको ११ महिनाको अवधिमा भएका दुर्घटनामध्ये सार्वजनिक सवारीको रूपमा रहेको बस दुर्घटना पाँचौँ नम्बरमा रहेको छ । यस आर्थिक वर्षको ११ महिनाको अवधिमा १ हजार ७८६ वटा दुर्घटना बससँग सम्बन्धित छ । जुन कुल दुर्घटनाको ४ दशमलव ६० प्रतिशत हो ।
१० वटा श्रेणीमा विभाजन गरिएको सवारीसाधनको किसिम अनुसार दुर्घटनाको छैटौँ नम्बरमा ट्रक तथा ट्याङ्कर रहेका छन् । यस आर्थिक वर्षको ११ महिनाको अवधिमा ट्रक र ट्याङ्कर गरी १ हजार ५५९ वटा दुर्घटनामा परेका छन्, जुन कुल दुर्घटनाको ४ दशमलव शून्य दुई प्रतिशत हो ।
यस्तै सबैभन्दा बढी दुर्घटना हुने सवारीसाधनको सूचीमा ट्याक्टर सातौँ स्थानमा रहेको छ । यस आर्थिक वर्षको ११ महिनाको अवधिमा १ हजार ४४ वटा ट्याक्टर दुर्घटनामा परेका छन् जुन कुल ३८ हजार ७७४ सवारीसाधन दुर्घटनाको २ दशमलव ६९ प्रतिशत हो । त्यसपछि आठौँ स्थानमा माइक्रो बस तथा भ्यान रहेका छन् । कुल ३८ हजार ७७४ वटा सवारीसाधन दुर्घटना हुँदा यात्रु बोक्ने माइक्रोको सङ्ख्या ५९८ रहेको छ । यो जुन कुल सवारीसाधन दुर्घटनाको केवल १ दशमलव ५४ प्रतिशत मात्रै हो ।
यात्रु बोक्ने सवारीसाधन अर्थात् प्यासेन्जर भेइकल दुर्घटनाको तथ्यांक केलाउँदा कार, जिप, ट्याम्पो र बसभन्दा माइक्रो बस वा भ्यान सुरक्षित रहेको पाइएको छ ।
सर्वाधिक दुर्घटना हुने सवारीको सूचीमा ट्रिपर नवौँ स्थानमा रहेको पाइएको छ । मुख्यतः बालुवा र गिट्टी बोक्ने ट्रिपरको दुर्घटनामा पछिल्लो दिन कमी आएको हो । यस आर्थिक वर्षको ११ महिनाको अवधिमा देशभर कुल ५६२ वटा ट्रिपर दुर्घटना भएका छन् । जुन कुल दुर्घटनाको १ दशमलव ४४ प्रतिशत हो ।
देशभर भएका सवारीसाधन दुर्घटनाको तथ्यांक हेर्दा सबैभन्दा कम दुर्घटनामा पर्ने सवारीसाधनमा डोजर, लोडर र एक्स्काभेटर रहेका छन् । यस आर्थिक वर्षमा ७४ वटा यस्ता सवारीसाधन दुर्घटना भएको पाइएको छ । यी सवारीसाधनको सङ्ख्या पनि कम नै हुने भएकाले यी सवारीसाधनको दुर्घटनाको सङ्ख्या पनि कम नै रहेको पाइएको हो ।
उपत्यकामा ६ हजार ४१० दुर्घटना
चालु आर्थिक वर्षको आषाढ २० गतेसम्मको तथ्यांक हेर्दा काठमाडौं उपत्यकामा कुल ६ हजार ४१० वटा सवारीसाधन दुर्घटनामा परेका छन् । यी दुर्घटनाहरूमा २६ जनाले ज्यान गुमाएका छन् भने ६७६ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा मृत्यु हुनेहरूमा १७ जना पैदल यात्री रहेका छन् ।
उपत्यकामा ईभी गाडीको दुर्घटना ३ प्रतिशतभन्दा कम
काठमाडौं उपत्यकामा भएका दुर्घटनाहरूको तथ्यांक केलाउँदा इलेक्ट्रिक भेइकल अर्थात् ईभी गाडीहरूको दुर्घटना केवल २ दशमलव ९० प्रतिशत रहेको छ । उपत्यकामा कुल ६ हजार ४१० वटा सवारीसाधन दुर्घटनामा पर्दा १८६ वटा ईभी गाडीहरू दुर्घटनामा परेको पाइएको छ । ईभी गाडीहरूमा पनि धेरैजसो ईभी कार दुर्घटनामा परेको छ भने ईभी भ्यान वा माइक्रो दुर्घटनाको सङ्ख्या नगन्या मात्रामा रहेको छ ।
बढी दुर्घटनामा अन्य सवारीसाधन, दोष भने ईभीलाई !
पछिल्लो समय भएका सार्वजनिक सवारीसाधन दुर्घटनामा सबैभन्दा बढी दुर्घटना ट्याम्पोको भएको छ । ट्याम्पोपछि बस दुर्घटना बढी छ भने त्यसपछि मात्रै माइक्रोको दुर्घटना बढी भएको तथ्यांकले देखाएको छ । माइक्रोको दुर्घटना हुँदा पनि अधिकांश दुर्घटना इन्धनबाट चल्ने सवारीसाधनबाट भएको पाइन्छ ।
पछिल्लो समय प्यासेन्जर भेइकलका रूपमा इन्धनबाट चल्ने भन्दा विद्युतीय सवारीसाधन, माइक्रो वा भ्यानको माग बढ्न थालेको छ । यस्तो अवस्थामा इन्धनबाट चल्ने सवारीसाधनको व्यापारमा ७० प्रतिशतसम्मको कमी आएपछि इन्धनबाट चल्ने सवारीसाधन, माइक्रो र भ्यानको विक्री वितरण गर्ने कम्पनीहरूले नै स्पन्सर र बुस्ट गरेर ईभी सवारीविरुद्ध प्रचारबाजी गरेको आशंका गर्न थालिएको छ ।



































