काठमाडौँ । सरकारले दुईपांग्रेमा युरो ५ र चारपांग्रेमा युरो ६ प्रदूषण मापदण्ड लागू गरेको छ। वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै युरो ३ को व्यवस्थालाई संशोधन गरेको हो।
‘दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे लघु सवारीसाधनको हकमा युरो ५ र कम्तीमा चारपांग्रे भएका सवारीसाधनको हकमा युरो ६ मापदण्ड बमोजिमको प्रदूषण परीक्षण मान्य हुनेछ।’
विद्युतीय सवारीलाई प्रवर्द्धन गरिरहेको नेपालले युरो ३ कै गाडी आयात गर्न दिई प्रदूषण बढाउने सहयोग पुर्याएको थियो।
राजपत्रअनुसार असार ९ गतेसम्म प्रतीतपत्र वा बैंकको माध्यमबाट भुक्तानी गरिसकेको भुक्तानी बमोजिम नेपालमा आयात गरिने सवारीसाधन तथा नेपालमा एसेम्बल हुने वा उत्पादन हुने सवारीसाधनमा प्रदूषण मापदण्ड २०६९ लागू हुनेछ।
विश्वभर विभिन्न देशहरूमा सवारी साधनबाट निस्कने प्रदूषणलाई न्यूनीकरण गर्नका लागि पहल भइरहेका छन्। नेपालले पनि अन्य देशमा लागू गरिए जस्तै आफ्नै स्ट्यान्डर्डको नेपाल सवारी प्रदूषण मापदण्ड लागू गर्ने गरेको छ । तर पनि समयानुकूल बनाउनका लागि आवश्यक कार्य भने भएको छैन ।
नेपालमा युरो ६ सरहको नेपाल सवारी प्रदूषण मापदण्ड लागू गर्ने तयारी भइरहेको सन्दर्भमा यसमा एकरूपता कायम गर्ने वारेमा भने सम्बन्धित क्षेत्रका व्यक्तिहरूको विचारमा एकरूपता कायम हुन सकेको छैन ।




































