काठमाडौं नेपालमा सवारी साधनको संख्या लगातार बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ सम्म देशभरि ५८ लाख ५० हजारभन्दा बढी सवारी साधन दर्ता भएका छन्। तीमध्ये सबैभन्दा बढी मोटरसाइकल छन्।
विभागका तथ्यांकअनुसार, २०८१/८२ सम्ममा ४७ लाख ४४ हजार ७२ मोटरसाइकल दर्ता भएका छन्। त्यस्तै, देशभरि ३ लाख ६६ हजार ७ सय २३ कार, जिप र ट्याक्सी सञ्चालनमा छन्।
विभागका विवरण अनुसार, हाल नेपालमा ७१ हजार ५ सय ७७ बस, ४१ हजार ९ सय ८६ मिनिबस/ट्रक, र १ लाख २९ हजार १ सय १९ क्रेन, डोजर, एक्जाभेटर, लोडर तथा रोलर सञ्चालनमा छन्। पिकअप गाडीको संख्या ९१ हजार ४ सय ८३ रहेको छ।
त्यस्तै, माइक्रोबस १२ हजार ५ सय ७५, टेम्पो १ लाख ११ हजार ३ सय ५२, ट्याक्टर १ लाख ९० हजार ६४, र ई–रिक्सा ७३ हजार ६ सय ६ दर्ता भएका छन्। अन्य सवारी साधन १७ हजार ८ सय ७५ छन्।
गत आव २०८१/८२ मा मात्रै २ लाख ४२ हजार ४ सय ४१ सवारी साधन दर्ता भएका थिए। यसमा २ हजार ५ सय ८८ बस, १५ हजार ९९ कार, र १ लाख ९६ हजार २ सय ११ मोटरसाइकल नयाँ दर्ता भएका थिए।
सवारी साधनको यो वृद्धिले शहर तथा सडकहरूमा आवागमनमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।



































