काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को आयोजनामा हुन लागिरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनमार्फत नाइमाले सोको जानकारी गराएको हो । एक्स्पो आगामी श्रावण २१ देखि २५ गतेसम्म काठमाडौँको भुकुटीमण्डममा आयोजना हुँदैछ ।
पत्रकार सम्मेलनमा अटो एक्स्पो समितिका प्रमुख शिरीष कुमार मुरारकाले एक्स्पो आयोजना स्थलमा जलनिकासको राम्रो प्रबन्ध गरिएको र प्रदर्शनीस्थल अपांगतामैत्री समेत हुने गरी स्टलहरूको निर्माण गरिएको बताए ।
नाइमाले एक्स्पो लक्षित विशेष अनलाइन भिडियो प्रतियोगिता पनि सुरु गरेको छ। श्रावण २१ गतेसम्म अटो एक्स्पो सम्बन्धी भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख रुपैयाँ र श्रावण २१ देखि २५ भित्र अपलोड गरिएका १० उत्कृष्ट भिडियोलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने नाइमाले जनाएको छ।
पत्रकार सम्मेलनमा बोल्दै नाइमा अध्यक्ष रितु शिंह वैद्यले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ नेपालकै सबैभन्दा ठूलो र प्रभावशाली अटोमोबाइल प्रदर्शनी बन्नेमा आफू ढुक्क रहेको विश्वास व्यक्त गरिन् । प्रदर्शनीको पाँचौं दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी हुने प्यानल डिस्कसनको कार्यक्रम पनि तय भएको उनले जानकारी दिइन् ।
प्रदर्शनीको पहिलो दिन श्रावण २१ गते अनिल केशरी शाहले “मोबिलिटी हिजो, आज र भोलि” विषयमा ज्ञानमूलक सत्र सञ्चालन गर्नेछन् । अन्य सत्रहरूमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय तथा भारतको रोड ट्राफिक एजुकेशन इन्स्टिच्युट लगायत विभिन्न संस्थाका विज्ञहरूको उपस्थिति रहनेछ।
एक्स्पोमा सहभागी हुनका लागि टिकट ‘खल्ती बाई आईएमई’ मार्फत किन्न सकिनेछ। प्रदर्शनीबाट संकलित टिकट आम्दानीको ५ प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँगको सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी सम्बन्धी विषयमा छात्रवृत्ति तथा फेलोशिप प्रदान गर्न खर्च गरिने आयोजकले जनाएको छ ।



































