काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले आयोजना गरेको १७औँ संस्करणको ‘नाडा अटो शो’ मा करिब ४,३०० युनिट सवारीसाधन बुकिङ भएका छन्। यसमध्ये करिब ४,००० चारपाङ्ग्रे र २०० भन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन रहेका आयोजकले जनाएका छन्।
चारपाङ्ग्रे सवारीमध्ये सर्वाधिक बुकिङ इलेक्ट्रिक गाडी निर्माता बीवाईडी (BYD) ले गर्न सफल भएको छ। कम्पनीका अनुसार एटो १ र एटो २ मोडलले उच्च आकर्षण पाएको छ र १,४०० युनिटभन्दा बढी गाडी बुकिङ भएका छन्।
यसपछि दोस्रो स्थानमा टाटा (TATA) रहेको छ। कम्पनीका टियागो, पन्च र नेक्सन मोडलहरू गरी कुल ८०० युनिट गाडी बुकिङ भएका छन्। स्काइवेलका १३१ र जिली ईएक्स५ का १८७ वटा गाडी बुकिङ भएका हुन् ।
त्यस्तै, एमएडब्ल्यू (MAW) नामी का ८१२, दीपलका ६०७ र सेरेसका १०३ वटा गाडी बुकिङ भएका छन्।
पहिलो पटक प्रदर्शनीमा सहभागी बनेका ब्राण्डहरूमध्ये जिली (Geely) का १८७ युनिट, जिङपिङका १०२ युनिट, एक्सपेङका ७० युनिट र सनलङ (Sunlong) का १०२ युनिट गाडी बुकिङ भएका छन्।
दुईपाङ्ग्रे सवारीतर्फ रोयल इन्फिल्डको १६० युनिट र हिरोको ६० युनिट मोटरसाइकल बुकिङ भएको जानकारी दिइएको छ।



































