काठमाडौंँ । बेलायती अटोमोबाइल पोर्टल टप गीयरले विश्वका उत्कृष्ट २० विद्युतीय कार (Top Gear's top 20 electric cars) को पछिल्लो सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा रेनो ५ पहिलो स्थानमा परेको छ ।
चौथो, पाँचौं र छैटौं स्थानमा पोर्शे टेक्यान, टेस्ला मोडल ३ र एमजी ४ परेका छन् । यीमध्ये नेपालमा उपलब्ध रहेको मोडल एमजी फोर मात्रै हो । अन्य मोडल हालसम्म नेपालमा उपलब्ध छैनन् ।
टप गीयरका अनुसार यी कारहरू छनोट हुनुको कारण ब्याट्री रेंज, चार्जिङ क्षमता, सुविधा, ड्राइभिङ डाइनामिक्स र स्टाइल रहेका छन् ।

शीर्ष ६ भित्र पर्न सफल एमजी फोर ईभी नेपालमा विभिन्न दुई भेरियन्टमा उपलब्ध छन् । कम्फर्ट भेरियन्टमा ५१ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटर रहेको छन् । यसको मूल्य ४१ लाख ४९ हजार रुपैयाँ छ। डिलक्स भेरियन्टमा ६४ किलोवाट आवर ब्याट्री र १५० किलोवाट मोटर जडान गरिएको छ । यसले सिंगल चार्जमा करिब ४३५ किलोमिटर रेन्ज दिने क्षमता राख्दछ । यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
यस ईभीमा रियर–ह्वील ड्राइभ, आधुनिक सुरक्षा प्रणाली, टच–स्क्रिन इन्फोटेन्मेन्ट, विभिन्न ड्राइभिङ मोड र मोबाइल ब्लुटुथ की जस्ता सुविधा उपलब्ध छन्। सुरक्षाका लागि एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, रिभर्स क्यामेरा तथा सिट बेल्ट रिमाइन्डर जस्ता फिचर समावेश गरिएको छ।
एमजीको इभी फोर भारतीय बजारमा पनि अत्यधिक रुचाइएको मोडल अन्तर्गत पर्दछ । भारतमा चालु आर्थिक वर्ष २०२५ मा सबैभन्दा बढी ईभी बिक्री गर्ने कम्पनीमा टाटा मोटर्स रहेको छ । टाटाले ५७ हजार ६१६ ईभी बिक्री गरेको छ। त्यसपछि एमजी मोटर इन्डियाले ३० हजार १६२ वटा इर्भी बिक्री गरिसकेको छ । भारतीय बजारमा चालू आवमा सर्वाधिक बिक्री भएका अन्य इभी ब्रान्ड महिन्द्रा (८ हजार १८२), बीवाइडी (३ हजार ४०१) र हुन्डाई (२ हजार ४१०) रहेका छन् ।



































