काठमाडौँ । चीनको अग्रणी विद्युतीय सवारी निर्माता बिवाईडीले सन् २०२४ मा ४२.७ लाख नयाँ ईभी र हाइब्रिड गाडी बिक्री गर्दै १०७ अर्ब डलरको आम्दानी गरेको छ । यो रकम अघिल्लो वर्षभन्दा २९ प्रतिशत बढी हो । यसले बिवाईडीलाई टेस्लालाई उछिन्दै विश्वकै सबैभन्दा बढी ईभी बेच्ने कम्पनी बनाएको छ ।
बिवाईडीको ध्यान उच्चस्तरीय लक्जरी सवारी बजारतर्फ मोडिएको छ। यसै सन्दर्भमा कम्पनीको प्रिमियम ब्रान्ड डेनजाले चीनको ठूलो अटोमोबाइल प्रदर्शनी अटो साङ्घाईमा "डेनजा जेड" मोडेल सार्वजनिक गरेको छ। चम्किलो निलो रङको यो गाडी पोर्श र मर्सिडिजजस्ता पश्चिमी ब्रान्डसँग प्रत्यक्ष प्रतिस्पर्धामा ल्याइएको हो । यसका साथै याङवाङ ब्रान्डले पनि एक मिलियन युआन मूल्यको नयाँ यू८एल एसयूभी सार्वजनिक गरेको छ।

बिवाईडीका गाडीले बजारमा सुखद् प्रदर्शन गरिरहँदा टेस्ला भने पछिल्लो त्रैमासिकमा आम्दानीमा गिरावट भोगिरहेको छ। अमेरिकी बजारमा ट्रम्पको व्यापार युद्ध र एलन मस्कप्रतिको उपभोक्ता असन्तुष्टिले टेस्लाको बिक्रीमा असर परेको देखिन्छ।
बिवाईडीले २०२५ सम्म चीनबाहिर ८ लाख सवारी बिक्री गर्ने लक्ष्य राखेको छ। कम लागत, स्थानीय उत्पादन र नवीन प्रविधिका कारण बिवाईडी विश्वव्यापी रूपमा ईभी बजारमा बलियो प्रतिस्पर्धीको रूपमा उभिएको छ।





































